जहाज दुर्घटनामा पाइलट श्रीमानको निधनपछि पाइलट पढेकी थिइन् अञ्जुले

काठमाडौं, १ माघ । २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेर पति दीपक पोखरेल गुमाएपछि उडान क्षेत्रमा आएकी कोपाइलट अन्जु खतिवडा पोखरामा भएको विमान दुर्घटनामा परेकी छिन् ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के.सी. र को-पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।

को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो। श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्।

उनको अवस्था अज्ञात नै छ । को पाइलट खतिवडाको एक छोरा र एक छोरी गरी दुई सन्तान रहेको जनाइएको छ ।

वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका छन् । ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमा ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको थियो ।