३ जना महिलालाई वन रक्षकद्वारा निर्घात कुटपिट ,महिलाहरु घाँस काट्न जंगल गएका थिए

बाराको कोल्हवीमा जंगलमा घाँस दाउरा काट्न गएका तीन जना महिलामाथि जिल्ला वन कार्यालयका वन रक्षकले निर्घात कुटपिट गरेका छन्।

कोल्हवी ८ की ३० वर्षीया हर्कमाया खड्का, सोही ठाउँकी ३५ वर्षीया सीता श्रेष्ठ र ३९ वर्षीया मैया श्रेष्ठमाथि आइतबार दिउँसो जंगलमै पाँचजना वन रक्षकले कुटपिट गरेका हुन्।कुटपिटबाट हर्कमायाको शरीरभरी निलडाम छ भने अन्य दुई महिलामाथि पनि कुटपिटसहित हातपात भएको पीडित पक्षको भनाई छ।

पीडित पक्षले दोषीमाथि कारबाहीको माग गर्दै आइतबार साँझ इलाका प्रहरी कार्यालय कोल्हवीमा उजुरी दिन खोजेका थिए। तर, त्यहाँको प्रहरीले उजुरी नलिएको पीडित महिला हर्कमायाका आफन्त कुलबीर थापाले जानकारी दिए। कोल्हवी प्रहरीले उजुरी दर्ता नगरेपछि सोमबार पीडित पक्ष दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा पुगेको छ।

जिल्ला प्रशासन कार्यालय बारामा दुवै पक्षलाई सँगै राखेर अहिले छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिए।

दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै ठूलो संख्यामा स्थानीयबासी अहिले जिल्ला प्रशासन कार्यालय कलैया पुगेका छन्। प्रशासन कार्यालयको गेटमा बसेर उनीहरुले दोषीमाथि कारबाहीको माग गरिरहेका छन्।

कुटपिटमा संलग्न एकजनालाई पक्राउ गरिएको डीएसपी थापाले बताए। अन्य चारजना भने फरार छन्। तर, उनले पक्राउ पर्नेको नाम भने खुलाएनन्।घरदेखि करिब दुई किमी टाढाको साझेदारी वनमा सधैँ स्थानीय महिला घाँस दाउरा काट्न जाने गर्थे।

‘सधैँ झैँ आइतबार पनि हामी तीनजना सँगै घाँस दाउरा काट्न जंगल गएका थियौँ,’ वन रक्षकको कुटपिटबाट घाइते भएकी हर्कमाया खड्काले नेपालखबरसँग भनिन्, ‘जंगलमा घाँस काटिरहेको बेला एक्कासी सिभिल ड्रेसको एउटा वन रक्षक आएर मलाई हातपात गर्न थाल्यो।

मैले प्रतिकार गरेपछि उसले अश्लिल शब्द बोल्दै मलाई लौराले जथाभावी कुटपिट गर्न थाल्यो। मैले प्रतिकार गर्दै चिच्याएपछि साथीहरु (सीता र मैया श्रेष्ठ) आए। त्यसपछि ऊ भाग्यो।’ सरकारी गाडीमा आएका पाँचजना मध्ये दुई जना वन रक्षक बर्दीमा र बाँकी तीन जना सिभिलमा रहेका पीडित महिलाले बताएका छन्।

जंगलमा आफूमाथि जबर्जस्ती (बलात्कार) गर्ने प्रयास असफल भएपछि कुटपिट भएको पीडित महिलाको भनाई छ। ‘मलाई कुट्ने वन रक्षक सिभिलमा थियो। उसको हातमा मोटो लौरो थियो,’ हर्कमायाले भनिन्, ‘त्यो लौरै भाँचिनेगरी मलाई पिट्यो। जबर्जस्ती गर्न नपाएपछि ममाथि आक्रमण भयो।’

घटनामा संलग्न पाँच जनामध्ये गोपाल खड्कालाई मात्रै आफूले चिनेको उनले बताइन्। तर, घटना भएको बेला खड्का भने आफ्नो छेउमा नआएको उनको भनाई छ।
‘ममाथि कुटपिट गर्नेसहित अरु चारजना मैले नचिनेका मान्छे थिए,’ उनले भनिन्, ‘जंगलमा होहल्ला गर्दै हामी रुवावासी गर्न थालेपछि उनीहरु भागे।’

कुटपिटबाट घाइते हर्कमायाका आफन्त कुलवीर थापाले प्रहरी प्रशासनले दोषीलाई उन्मुक्ती दिनेगरी मिलापत्रको प्रयास गरिरहेको गुनासो गरे। ‘हिजो कोल्हवी प्रहरीले उजुरी लिन मानेन। आज जिल्ला प्रशासन कार्यालयमा पनि हामीलाई भित्र जान दिइएको छैन,’ गुनासो गर्दै उनले भने।