पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जितेको छ । फरवार्ड लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जित्दा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पनि केही संयोग जोडिएको छ ।

कतारमा गत नोभेम्बरदेखि सुरु भएको विश्व फुटबलको सबैभन्दा ठुलो फिफा विश्वकप जारी रहँदा सामाजिक सन्जालमा एक पोस्टर सार्वजनिक भएको थियो । उक्त पोस्टरमा पिएसजीमा पुगेको अर्काे वर्ष स्टार खेलाडीले विश्वकप जितेको देखाइएको थियो ।

त्यो पोस्टरमा ब्राजिली रोनाल्डिन्हो र फ्रान्सेली केलियन एमबाप्पेको पिएसजी पुगेको अर्काे वर्ष विश्व च्याम्पियन बन्दै ट्रफी बोकेको तस्विर तथा मेस्सीको तस्विरसँगै अब मेस्सीले विश्वकप जित्लान ? भनेर लेखिएको थियो । र, मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाए ।

हालसम्मकै उत्कृष्ट मानिएको विश्वकप फाइनलमा अर्जेन्टिनाले बाजी मार्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी तथा अतिरिक्त समयमा ३–३ गोलको बराबरीपछि टाइब्रेकरमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

ब्राजिली रोनाल्डिन्हो र फ्रान्सेली केलियन एमबाप्पेले पिएसजीमा सम्झौता गरेको अर्को वर्ष विश्वकपको जितेका थिए । सन् २००१ मा रोनाल्डिन्हो ब्राजिली क्लब ग्रेमियोबाट ५ मिलियन युरोमा ५ वर्षका लागि पिएसजीमा अनुबन्धित भएका थिए । त्यसबेला उनी २१ वर्षका थिए ।

त्यसको एक वर्षपछि रोनाल्डिन्होकै उच्च प्रदर्शनमा ब्राजिलले २००२ को विश्वकपको उपाधि जित्न सफल भए । जुन ब्राजिलको पाँचौ विश्वकप थियो । पिएसजीमा दुई सिजन बिताएपछि उनी क्याटलान क्लब बार्सिलोना पुगेका थिए । जहाँ उनले आफ्नो उत्कृष्ट समय व्यतित गरे ।

सन् २०१८ को विश्वकपमा पनि यस्तै संयोग दोहोरियो । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले मोनाकोमा सनसनीपूर्ण प्रदर्शन गर्दै फ्रेन्च लिग वानमा पिएसजीको अधिपत्य तोड्दै मोनाकोलाई च्याम्पियन बनाए । त्यसपछि उनी लोनमा पिएसजी पुगेका थिए । अर्काे वर्ष पिएसजीले एमबाप्पेलाई कीर्तिमानी मुल्यमा स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्यो ।

त्यसको एक वर्षपछि एमबाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले सन् १९९८ पछि विश्वकप जित्न सफल भयो । त्यस विश्वकपमा उनी उत्कृष्ट युवा खेलाडी घोषित भए । एमबाप्पे अहिले पनि पिएसजीका लागि खेलिरहेका छन् । त्यही समयमा विश्व कीर्तिमानी मुल्यमा क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी पुगेका ब्राजिली नेयमारले भने विश्वकप जित्न सकेनन् ।

सन् २०२२ को विश्वकपमा पनि यस्तै संयोग दोहोरियो । पिएसजीमा अनुबन्ध भएको १ वर्षपछि नै मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाए । सबै समय क्याटलान क्लब बार्सिलोनामा व्यतित गरेका मेस्सीलाई क्लबले राख्नै सक्ने स्थिति नरहेपछि पिएसजीले फ्रि ट्रान्सफरमा मेस्सीलाई अनुबन्ध गर्न सफल भएको थियो ।

मेस्सीले पिएसजीकै स्टार एमबाप्पेको फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै विश्वकपको उपाधि जित्न सफल भए । ८ गोल गर्दै एमबाप्पेले गोल्डेन बुट जित्दा ७ गोल र ४ असिस्ट दिएका मेस्सीले गोल्डेन बल पाए । एमबाप्पेले फाइनलमा अतिरिक्त समयमा ह्याट्रिक गरेपनि टोलीलाई जिताउन सकेन ।