माधव नेपालको बिचल्ली, अब के गर्लान् माधव नेपाल ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीलाई समानुपातिक पद्धतिमा थ्रेस होल्ड कटाउन नसक्दा ठूलै झट्का लाग्यो ।

कुल सदर मतको ३ प्रतिशत पुर्‍याउन नसकेका कारण उसले समानुपातिकबाट सांसद निर्वाचित गर्न सकेन भने राष्ट्रिय पार्टीको मान्यता पनि पाउन सकेन । सिट संख्याको हिसाबमा अहिले यो पार्टी प्रतिनिधिसभामा सातौं स्थानमा छ ।

प्रदेशसभा निर्वाचनमा पनि यो पार्टीको अवस्था निराशाजनक छ । लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको एकीकृत समाजवादीले गण्डकीमा समानुपातिकतबाट पनि सिट पाउन सकेन । प्रदेश १ मा प्रत्यक्षमा ३ सिट जितेको उसले समानुपातिकमा १ सिट पायो । मधेशमा प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट प्राप्त गर्‍यो ।

सुदूरपश्चिममा प्रत्यक्षमा ३ (एक जना स्वतन्त्रसमेत) जितेको समाजवादीले समानुपातिकमा १ सिट प्राप्त गर्‍यो। बागमतीमा प्रत्यक्षतर्फ ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ । लुम्बिनी र कर्णालीमा प्रत्यक्ष चुनाव जित्न नसके पनि समानुपातिकबाट एक-एक सिट पाएको छ ।

गण्डकीमा निर्विरोध निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे)लाई प्रवेश गराएर शून्य हुनबाट जोगिएको एकीकृत समाजवादीले प्रदेशसभाहरुमा कुल २४ सिट पाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले यो नतिजालाई ‘कल्पना बाहिरको परिणाम’ भनेका छन् । उनले थ्रेसहोल्ड नकट्नुमा नेकपा एमाले र निर्वाचन आयोगलाई दोष दिए ।

प्रत्यक्षमा सत्तारुढ गठबन्धनको समर्थनमा २० सिटमा उम्मेदवारी दिए पनि १० सिट मात्र जितेको र समानुपातिकमा लज्जाजनक मत पाउँदा एमालेबाट अलग भएको औचित्य पुष्टि गर्न नेताहरुलाई कठिन छ ।

अध्यक्ष नेपालले भने यो घटनालाई सामान्य मान्छन् । ‘राष्ट्रिय पार्टीको नामले पनि फरक पर्ने होइन’ अनलाइनखबरसँगको कुराकानीमा उनी भन्छन्, ‘संसदमा कतिवटा कोठा दिने भन्ने कुरा होला । बस्ने ठाउँ कता दिने भन्ने होला ।’

राष्ट्रिय पार्टी नबनेपछि निराशा

अध्यक्ष नेपालले स्थानीय चुनावमा ९ लाख मत पाएको दावी गरेका थिए र प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा २० लाख मत ल्याउनुपर्ने बताएका थिए । अध्यक्षको कुरा सुनेका धेरै कार्यकर्ता समानुपातिकमा थ्रेस होल्ड कट्नेमा ढुक्क थिए ।

तर, चुनावी नतिजापछि पार्टीको भविष्यलाई लिएर नेता कार्यकर्ताहरुमा निराशा देखिएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले आफूहरुले एमालेबाट गरेको विद्रोहको पक्षमा जनताको समर्थन पाउन नसकेको बताए ।

‘पार्टीबाट जसरी विद्रोह गरेर आइयो, तर त्यसरी जनताको बीचमा पार्टी विद्रोहको औचित्य स्थापित गरेर समर्थन प्राप्त गर्न सकिएन’, श्रेष्ठले भने ।

एमाले विभाजन गर्दा राजनीतिक दलसम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय सदस्य र संसदीय दलको २० प्रतिशतको समर्थनमा एकीकृत समाजवादी गठन गरिएको थियो । त्यस हिसाबले एमालेको जनमतको २० प्रतिशत मत आफूतिर रहेको एकीकृत समाजवादीका नेताहरुको अनुमान थियो । उपाध्यक्ष श्रेष्ठ त्यसै अनुसार हिसाब गर्दा समानुपातिकमा १० लाख मत पाउने आशा राखेको बताउँछन् ।

कार्यकर्ता जोगाइराख्ने चुनौती

स्थानीय तहको चुनावमा एकीकृत समाजवादीबाट २० पालिकाको प्रमुख २३ वटा उपप्रमुख, १९० वटा वडाध्यक्षसहित ९८६ जना जनप्रतिनिधि मात्रै निर्वाचित भएका थिए । यो परिणामपछि धेरै नेता कार्यकर्ताले एकीकृत समाजवादी पार्टी छाडेका थिए । पार्टीका सुदूरपश्चिम अध्यक्ष विक्रम शाही एमाले फर्किए भने जुम्ला र अछाम जिल्ला कमिटी नै एमालेमै समाहित भयो ।

गुल्लीमा जिल्ला इन्चार्ज र अध्यक्षसहित नेता, बारामा केन्द्रीय सदस्य सीता गुरुङ र जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मासहित ११ जना जिल्ला तहका नेताहरु पनि एमाले फर्किएका थिए ।

एकीकृत समाजवादीले राष्ट्रिय पार्टीको मान्यता नै पाउन नसकेपछि चुनावअघिको यो क्रम झन् बढ्ने डर नेताहरुमा छ । अध्यक्ष नेपाल भने यसलाई सामान्य घटना मान्छन् । ‘पार्टी छोड्ने सामान्य कुरा हो’ उनी भन्छन्, ‘हाम्रो पार्टीमा आउनेहरु पनि छन् ।’

शक्ति बढाउने चुनौती

चुनावबाट अपेक्षित शक्ति प्राप्त गर्न नसकेको एकीकृत समाजवादीलाई अब राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीलाई चिनिने बनाउन समस्या छ । स्वतन्त्र अस्तित्व राखिरहने वा अर्को दलसँग एकता गर्ने भन्ने विषय पनि यो पार्टीमा उठेको छ । एकताको विषयमा यो पार्टीमा तीन वटा धार देखिएको छ ।

पहिलो, माओवादी केन्द्रसँग एकता गर्नुपर्छ ।

दोस्रो, कसैसँग एकता नगरी यही पार्टी बनाउनुपर्छ ।

तेस्रो, कम्युनिस्ट पार्टीहरु एक हुनुपर्छ ।

अध्यक्ष माधव नेपालसहितका केही नेताहरु माओवादीसँग पार्टी एकता गर्न सहमत छन् । उनीहरुकै जोडबलमा चुनावअघि नै माओवादीसँग एकता गर्न एकता संयोजन समिति बनाइएको थियो । तर उक्त समितिले ठोस काम गर्न सकेको छैन ।

पार्टीको ठूलो पंक्ति माओवादीसँग एकताको पक्षमा छैन । नेता रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतका नेताहरु यही पार्टीलाई नै मिहिनेत गरेर ठूलो बनाउन सकिने मत राख्छन् । पार्टी सचिव झाँक्री चुनावको निर्मम समीक्षा हुने बताउँछिन् ।

पार्टीका अन्य युवा नेताहरु पनि यही पार्टीलाई बनाउन सकिन्छ भन्नेमा आशावादी छन् । ‘अहिले पार्टी एकताको कुरा भन्दा पनि पाँच वर्ष पार्टी निर्माणमा लाग्नुपर्छ’ विद्यार्थी संगठन अनेरास्ववियूकी महासचिव आरती लामा भन्छिन्, ‘आफ्नै बलबुतामा उभिने पार्टी बनाउनुपर्छ । हामी निराश छैनौं, हामी काम गर्न तयार छौं ।’ युवालाई समेत भूमिका दिएर पार्टी पुनर्गठन गर्नुपर्ने लामा बताउँछिन् ।

एकीकृत समाजवादीको युवा संगठन युवा संघ नेपालका अध्यक्ष नरेश शाही पनि राष्ट्रिय पार्टी बनिएन भनेर अहिले नै निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

‘अहिले सानो पार्टी भएर, राष्ट्रिय पार्टी नबनेर यो पार्टी बन्दैन कि भन्ने कुरा होइन’ उनी भन्छन्, ‘हामीले एमालेसँग विद्रोह गरेर आएको हो । हिजो हामीले २० प्रतिशत मत लिएर गएको हो । अहिले हामी २० प्रतिशतभन्दा ‘प्लस’ छौं । यसको सैद्धान्तिक जग बलियो भएकाले पार्टी बनाउन सकिन्छ ।’

नेता झलनाथ खनाल, मुकुन्द न्यौपानेलगायतका नेताहरु नेकपा एमालेलाई बाहेक गरेर माओवादीसँग एकता गर्न नहुने पक्षमा छन् । ‘अब संगठन विस्तारमै केन्द्रित भएर हाम्रो मूल्यमान्यता स्थापित गराउनुपर्छ भन्ने मत राख्ने साथीहरु पनि थुप्रो हुनुहुन्छ’ पार्टीभित्रको उठेका विषयबारे उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘केही चाहिं वामपन्थी एकता गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ ।’

अध्यक्ष नेपाल पनि पार्टीभित्र कसैलाई चिढ्याउने गरी अहिले नै निर्णयमा पुगिहाल्ने पक्षमा छैनन् । बरु उनी माओवादीसँगको एकतालाई केही पछाडि धकेल्न चाहन्छन् । त्यसका लागि माओवादीको नाम र चुनाव चिह्नमाथि प्रश्न उठाइरहेका छन् ।

‘माओवादीले माओवादी नाम राखेको छ, सिद्धान्त नै माओवादी भनेको छ । पार्टीको निर्वाचन चिह्न हँसिया हतौडा छ । यो तीनवटैमा हामी सहमत छैनौं’ अध्यक्ष नेपाल भन्छन् ।

एमालेसँगको एकताका लागि भने उनी आफैं पनि तयार छैनन् । एमाले अध्यक्ष ओली र उनीबीच निकै तिक्ततापूर्ण सम्बन्ध छ । ओलीले प्रतिनिधिसभामा निर्वाचित भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर बधाई दिंदा माधव नेपाललाई छुटाए । माधव नेपालले पनि ओलीलाई बधाई दिएका छैनन् ।

तपाईंहरुबीच साधारण शिष्टाचार आदानप्रदान पनि छैन है भन्ने प्रश्नमा नेपाल भन्छन्, ‘टु बि फ्र्यांक भन्नुपर्दा, छैन ।’