हिमेश पन्त भन्छन्– मान्छेहरूको चेतना स्तरमा अझै सुधार आएको छैन

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन- २०७९ को मत परिणाम आइरहेको छ। निर्वाचनमा कलाकारहरूले पनि उम्मेदवारी दिएका छन्। तर कलाकारहरूलाई मत परिणाममा अग्रता लिन नै सकस देखिएको छ।

कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्। पछिल्लो मतगणना अनुसार उनी तेस्रो स्थानमा छन्।

१३ हजार ६०८ मत पाउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे पहिलो स्थानमा छन् भने १२ हजार ६२८ मत पाउँदै भूमिप्रसाद त्रिपाठी दोस्रो स्थानमा छन्। कमेडियन पन्तले ४ हजार ४ हजार ४४३ मत पाएका छन्।

यसै क्रममा कमेडियन हिमेश पन्तले मतदाताको चेतना स्तर सुधार आउन नसकेको टिप्पणी गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै उक्त टिप्पणी दिएका हुन्।

‘करोडौं करोड खर्च गरेर चुनाव लड्नेहरूसँग २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक होइन। धादिङ क्षेत्र नं १ मा ५ वटा गाउँपालिका र १ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भए तापनि पहाड, गाउँ र लेकका सबै मान्छेहरूको चेतना स्तरमा अझै सुधार आएको छैन,’ उनले लेखेका छन्।

उनले कुनै पैसा या संगठन बिना आफूले भोट पाएको उल्लेख गर्दै लेखेका छन्, ‘निर्वाचन आयोगले दिएको १२/१३ दिनको प्रचार-प्रसारमा ५३ वटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो। म यति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट मासुभातको बदलामा आएको भोट होइन, पैसाले किनेको भोट होइन र कुनै डर–धम्कीबाट आएको भोट होइन।

बिना–संगठन, बिना गठबन्धन, बिना पैसा, बिना अनुभव मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो? सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरूको मनभित्र ढ्यांग्रो बजेको छ। यही नै हाम्रो ठूलो उपलब्धि हो।’