अभिनेता पल शाहले यसपटकको भाइटीका कारागारभित्रै लगाए

अभिनेता पल शाहलाई तनहुँ कारागारभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइमसलालगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन कारागारमा पुगेकी थिइन् ।

तनहुँ कारागार प्रमुख नारायण अधिकारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार पलसहित ८० जना बन्दीले भाइटीका लगाएका थिए । ‘हामीले उहाँलगायत तनहुँ कारागारका बन्दीहरुलाई आफन्तजनबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका थियौं । त्यहीअन्तर्गत उहाँले पनि सोही सुविधा प्राप्त गर्नुभएको हो,’ अधिकारीले भने ।

पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले कारागारमै पुगेर पललाई भाइटीका लगाइदिएको बताए । ‘यसपटकको भाइटीकामा पनि रोशनी र पलबीच दाजुबहिनीको भावुक दृश्य देखिएको भन्ने सुनें,’ योगेशले भने ।यसपटकको दशैंमा पनि रोशनीले पलको दशैंटीकाको टिकटक भिडियो सेयर गरेकी थिइन् ।

पललाई कारागारमा भेट्न जाने, कानुनी र आर्थिक व्यवस्थापन गर्ने काममा समेत रोशनी सक्रिय छिन् । पलविरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए । उनीविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दे दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।तनहुँ जिल्ला अदालतमा भने पलविरुद्धको मुद्दा कायमै छ । आगामी पेशी कात्तिक १६ गतेलाई तोकिएको जानकारी पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले दिए ।

यो पनि पढ्नुहोस् :
झापा, ११ कात्तिक :एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् ।

उनले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए । आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे ।

यो पनि पढ्नुहोस् :
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालमा हत्या आरोपमा किटानी जाहेरी परेको छ।

रामेछापका द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले आफ्ना पिता टीकाराज आरणको हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका हुन। ०५७ फागुन १६ गते रामेछापको मन्थली नगरपालिका–९ (साविक पुरानागाउँ–५) मा साँझ ७ बजे माओवादीले अपहरण गरेर गोली हानी आफनो पिताको हत्या गरेको उनको आरोप छ।

दाहालले ‘द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा म लिन्छु बाँकीको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने जिकिर गरेका थिए। सोही आधारणमा ज्ञानेन्द्रले आफनो पिताको हत्या सम्बन्धमा ‘आयोगका केही सिफारिशहरूको कार्यान्वयन र पीडितको अवस्था अध्ययन प्रतिवेदन २०७५ राष्ट्रिय मानव अधिकार आयोग,

हरिहर भवन, ललितपुर, नेपालको पृ. २६–३६ मा प्राणदण्ड दिनु कानून, धर्म र मानवीय पक्षबाट गलत भन्ने उल्लेख भएको पाइन्छ’ जनाउँदै बाँकी १२ हजारको हत्यारा पनि प्रचण्ड नै भएको जिकिर गरेका छन्।

त्यसै गरी द्वन्द्वकालमा बेपत्ता पारिएका, अङ्गभङ्ग, कब्जा गरिएका, विस्थापित, चल सम्पत्ति लूटपाटमा परेका, बालसैन्य भर्ती लगायतका अमानवीय कार्यको सम्पूर्ण जिम्मा प्रचण्डले नै लिनुपर्ने आरणले उल्लेख गरेका छन् ।

आफनो पिताको अपहरण गरी यातना दिंदै गोली प्रहार गरी हत्या भएको र जिल्ला प्रहरी कार्यालय रामेछापले पनि घटनाको अभिलेख राखी पीडित पक्ष र साक्षीसँग बयान लिएको जनाएका आरणले इमेल मार्फत प्रहरीमा जाहेरी दिएका हुन। यसअघि आरणले कात्तिक ९ गते राष्ट्रिय मानव अधिकार आयोगमा पनि दाहाल विरुद्ध निवेदन दर्ता गराएका छन्।