नेपाल र नेपाली आफूलाई सुन्दर लाग्यो : अभिनेत्री भाग्यश्री

काठमाडौं । बलिउड अभिनेत्री भाग्यश्रीले नेपाल र नेपाली आफूलाई सुन्दर लागेको बताएकी छन् ।

नेपाल पर्यटन बोर्डको निम्तोमा नेपाल आएकी उनले नेपाल घुमघामबारे भिडियो सन्देश जारी गर्दै नेपाल र नेपाली आफूलाई सुन्दर लागेको र पुनः बालबच्चा लिएर घुम्न आउने बताएकी हुन् ।

दुई दिने नेपाल बसाइमा अभिनेत्री भाग्यश्रीले पाटन दरबार स्क्वायर र पशुपतिनाथ मन्दिर भ्रमण गरिन् । उनी सोमबार नेपाल आएकी थिइन् ।

नेपाल घुम्न पटक पटक आउने प्रयास गरे पनि आउन नमिलेको बताएकी उनले अब परिवारसहित नेपाल आउने प्रतिबद्धता गरेकी छन् । नेपालको मौसम राम्रो रहेको भन्दै उनले नेपाल पर्यकीय देश रहेको पनि बताएकी छन् । नेपालमा कफी र मःमसँग इन्जोय गर्न सकिने र आफूलाई नेपाली परिकार मन परेको उनको भनाइ छ ।

उनले नेपालीहरू मायालु र आशावादी पनि पाएको भन्दै पर्यटन बोर्डले तयार पारेर छोटो भिडियोमा सो कुराको उल्लेख गरेकी छन् ।