ओलीजीलाई मधेशमा लगेकै मैले हो, अब खाली गराउँछु : प्रभु साह

काठमाडौं । ठूला भनिएका हरेक पार्टीमा टिकटका लागि हानाथाप चल्यो । विगतमा जस्तै यो चुनावमा पनि टिकट नपाएकै कारण वर्षौंसम्म आफू आवद्ध भएको पार्टी रातारात छाडेर अर्को पार्टीमा पुगेर टिकट लिनेहरु पनि देखिए । तर नेकपा एमालेका नेता प्रभु साहले भने पार्टीले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए ।

साहले जनता समाजवादी पार्टीसँग चुनावी तालमेलको विरोध गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । आफूसँगै अरु एमाले नेताहरुलाई पनि जसपालाई छाडेको ठाउँमा उम्मेदवारी दिन लगाएका साह भन्छन्, ‘ओलीजीले साम्प्रदायिक शक्तिलाई मधेश जिम्मा लगाउन खोज्नुभयो, ठेक्का दिन खोन्नुभयो, मैले अस्वीकार गरें ।’

तर केपी ओलीका अनुसार, तपाईं पहिलेबाटै संदिग्ध गतिविधिमा हुनुहुँदो रहेछ ? भन्ने पत्रकारको प्रश्नमा साह भन्छन् त्यसमा कुनै सत्यता छैन । जसले संदिग्ध भन्नुभएको छ उहाँले नै आमजनतालाई भनिदिए हुन्थ्यो कि संदिग्ध भनेको के हो ?

जसपा (जनता समाजवादी पार्टी) सँग अपवित्र गठबन्धन कहिलेदेखि सुरु भयो ? जसपा हिजो एमाले र ओलीजीलाई प्रतिगगामी भन्ने, राष्ट्रपतिको पुत्ला जलाउने, एमालेलाई मधेश विरोधी बताउने पार्टी । अनि, उपेन्द्र यादवलाई साम्प्रदायिक, विदेशी दलाल भन्ने एमाले । कसरी रातारात एउटा कागजमा हस्ताक्षर गर्न पुग्नुभयो ? बताउनुहोस् ।

मधेशमा एमालेको भर्ती थियो र मैले खाली गराउँछु ? बनाएकै हामीले हो, बनाएकै प्रभु साहले हो । ओलीजीलाई मधेशमा टिकाएकै प्रभु साहले होइन ? यो सत्य घामजस्तै छर्लंङ्ग छ । ओलीजीलाई मधेशमा लगेकै मैले हो । प्रभु साह भएर मधेशमा एमाले थियो ।

एमालेभित्र पनि माधवजी (माधव नेपाल)कै बर्चस्व थियो । पार्टीमा विवाद हुँदा एमालेका दुई तिहाइ प्रदेश सभा सदस्यहरु माधव नेपालतिर लागे । एमालेको आधिकारिकता केपीजीसँग आइसकेपछि पनि बहुमत भन्दा बढी माधव नेपालजीमा देखियो । यसकारण मधेशमा एमाले हुँदा पनि माधव नेपालको थियो । विभाजनपछि एकीकृत समाजवादीकै बर्चस्व देखियो ।

नयाँ मान्छे आयो भने प्रभु साह आयो । हामीसँग भएको प्रतिनिधिसभा सदस्य, संसदीय दलको नेता रामचन्द्र मण्डल, प्रदेशसभा सदस्यहरु आफ्नो पद छोडेर एमालेमा आएको होइन ? अरु प्रदेशमा सरकार देखेर आए होलान्, मधेश प्रदेशमा त एमालेको सरकार थिएन । दर्जनौं पालिका प्रमुख र उपप्रमुख पदको बाजी लगाएर एमालेमा आए । यसले के देखाउँछ भने मधेशमा एमालेको पोजिसन कमजोर थियो, त्यसमा पनि ओलीजीको अवस्था दयनीय थियो ।

त्यो दयनीय स्थितिमा प्रभु साहकै सहयोगमा एमाले मधेशमा मधेशमय भएको थियो । मैले खाली बनाएँ रे ! कसले बनाएको थियो र खाली गरें ? यदि उहाँले भने जस्तै हो भने पुष्टि गरिदिए हुन्छ । (एमाले नेता साहसँग गरेको कुराकानीको सम्पादित अंश )