भीम रावल सम्पर्कविहीन भएपछि बालकोट आक्रोशित, ओलीले टिकट चिप्ल्याइदिने

लामो समयसम्म माधवकुमार नेपालनिकट रहँदै अन्तिममा केपी ओलीलाई साथ दिएका एमाले नेता भीम रावल लामो समयदेखि पार्टी नेतृत्वको सम्पर्कमा छैनन् ।

आगामी प्रतिनिधिसभामा टिकट बाँड्ने बेला रावल सम्पर्कविहीन भएपछि बालकोटमा खोजी भएको छ । मंगलबार एमाले सुदूरपश्चिम प्रदेश र अछाम कमिटी ओली निवास बालकोट पुगेर रावल सम्पर्कविहीन भएको जानकारी गराएको थियो ।

लेखराज भट्ट, यज्ञबहादुर बोगटी, कर्ण थापासहितको टोलीलाई ओलीले रावल कसरी अछाम १ बाट एकल सिफारिस परे भन्दै चासो राखेका थिए । उनले अहिलेसम्म आफ्नो सम्पर्कमा नआएका रावललाई एकल सिफारिस गरेर पठाएको भन्दै असन्तुष्टि जनाएका थिए । बालकोट स्रोतका अनुसार ओली अहिले रावलसँग त्यति खुसी छैनन् ।

पार्टी नेतृत्वलाई नभेट्ने, संवाद र छलफल नगर्ने, प्रतिनिधिसभा बैठकमा आफूखुसी बोल्ने गरेपछि ओली फायर छन् । त्यसमा पनि गत वर्ष सम्पन्न महाधिवेशनमा अध्यक्षमा आफूसँग टक्कर लिएको भन्दै ओलीले रावललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिने मनस्थिति बनाएको बुझिएको छ । ओलीले सधैं रावललाई मात्र टिकट दिँदा असन्तुष्टि बढेको भन्दै अहिले अरु नै नेतालाई अगाडि सार्ने तयारी गरेका छन् ।

सोही कारण मंगलबार एमाले सुदूरपश्चिम प्रदेश र अछाम कमिटीलाई बालकोट बोलाएका थिए । तर अछाममा रावलको बर्चस्व रहेको छ । यदि एमालेले रावललाई प्रतिनिधिसभाको टिकट नदिएमा त्यहाँ नेपाली कांग्रेस वा एकीकृत समाजवादीमध्ये जसले टिकट पाउँछन् उसले जित्ने बताइन्छ ।

बालकोटले अहिले रावल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्पर्कमा पुगेको हो कि भन्ने आशंका गरेको छ ।