इन्टरपोलले सन्दीपलाई पक्राउ गरिहाल्छ ? के हो डिफ्युजन नोटिसको अर्थ ?

ब,लात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।
सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको हो । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।

अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि भने रेड नोटिस जारी हुन्छ । डिफ्युजन नोटिस खोजीका लागि हो भने पक्राउ गर्न रेड नोटिस जारी गर्नुपर्छ ।

डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन । तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न थाल्नेछ । आफूविरुद्ध लागेको आरोप झूटो रहेको र त्यसको सामना गर्ने भन्दै सन्दीपले आइतबार फेसबूकमा लामो स्टाटस लेखेका थिए

सन्दीपले लेखेको फेसबूक स्टाटसमा आफूमा स्वास्थ्य समस्या देखिएको र आइसोलेसनमा रहेको जनाइएको छ । उनले छिट्टै नेपाल आउने उल्लेख गरेका छन् ।फेसबूकमार्फत आफू नेपाल आउने कुरा लेखे पनि आउन ढिलाइ गरेपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्न प्रक्रिया अगाडि बढाएको हो ।

सन्दीपविरुद्ध जाहेरी परेको पनि २१ पुगेको छ । प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ ।

‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले भने ।

सन्दीप सिंगापुरमा रहेको सूचना प्रहरीलाई भए पनि आधिकारिक रूपमा खोजीका लागि डिफ्युजन नोटिस जारी भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले सन्दीप नेपाल नआएपछि प्रहरीले आफ्नो प्रक्रियाबाट ल्याउन लागेको बताए ।

‘उनलाई गम्भीर आरोप लागेको छ । प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया त गर्ने नै भयो,’ डीआईजी राईले भने । भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ । ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

भदौ ६ गते बिहान होटलबाट निस्किएर अन्तर्राष्ट्रिय शृंखलाका लागि सन्दीप केन्या गएका थिए । केन्यामा खेल सकिएपछि उनी क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए ।

उनी वेस्टइन्डिजमै रहेका बेला काठमाडौंमा ब,लात्कारको उजुरी दर्ता भएपछि सन्दीप त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इन्डिज छाडेका सन्दीप अहिलेसम्म विदेशमै लुकेर बसिरहेका छन् ।

बलात्कार आरोप लागेको २ दिनपछि उनले क्रिकेट एसोसिएसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि सहयोग गर्न भनेका थिए । त्यसयता भने उनी कसैसँग औपचारिक सम्पर्कमा छैनन् । यसबीचमा उनले दुईपटक फेसबूक स्टाटस लेखेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सन्दीपको खोजी भइरहेको बताए । नेपाल आउनेबित्तिकै प,क्राउ गर्ने उनको भनाइ छ । नेपाल आउन ढिलाइ गरेमा भने इन्टरपोलमार्फत प,क्राउ गरेर नेपाल ल्याउने प्रहरीको तयारी छ । त्यसका लागि भने केही समय लाग्नेछ । lokaantar