आज के होला नागरिकताको मुद्दा ?

सर्वोच्च अदालतमा दायर भएको नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धी राष्ट्रपति कार्यालय,शीतल निवासविरुध्दका सबै मुद्दा आजको निम्ति पेशी सरेको छ । भोलिदेखि पूर्णिमाको दिनसम्म बन्द रहने भएकाले आज अदालतमा दिउँसो २ बजेपछि कुनै पनि इजलास नबस्ने अवस्था छ ।

त्यसमा पनि आजै कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको बिदाइ र दशैंको शुभकामना आदानप्रदान कार्यक्रम राखिएकाले आजको इजलासमा पालो पाउनै मुश्किल हुने सर्वोच्च प्रशासनको भनाइ छ । ‘आज कुनै निर्णय हुने सम्भावना देखिँदैन । पालो आए पनि अन्तरिम आदेश र लिखित जवाफ माग्नेसम्मको काम हुने सम्भावना निकै कम छ,’ स्रोतले भन्यो ।

आज बस्ने एकल इजलासमा मुद्दाहरु बाँडिएमा मात्र नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा परेको मुद्दाको पालो आउने, अन्यथा नआउने बताइन्छ । मुद्दाको पालो आए पनि एकल इजलासले संवैधानिक इजलासमा पठाइदिनसक्ने सम्भावना प्रवल देखिएको कानुनका विज्ञहरु बताउँछन् ।

दशैं बिदालगायतको विषयका कारण कम्तिमा यो महिनाभित्र उक्त मुद्दाले स्पष्ट आकार लिने सम्भावना नरहेको सर्वोच्चकै श्रीमानहरुको पनि बुझाइ छ । ‘दशैं र तिहारको बीचमा केही निर्णय हुन सक्छ । संवेदनशील विषय भएकाले एकल इजलासबाट अन्तरिम आदेश हुने सम्भावना क्षीण छ,’ स्रोतले भन्यो ।

अब कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकासपछि संवैधानिक इजलासमा न्यायाधीशहरु वरिष्ठताको आधारमा हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहने अवस्था बन्ने छ ।