१२ बुँदे सम्झौता दिल्लीमा भएको होइनः डा.बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार गलत भएको दावी गरेका छन् ।

बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले कटवाल प्रकरण र १२ बुँदेबारे चर्चा गरेका थिए । भट्टराईले त्यसबेला माओवादीले सेना नै कब्जा गर्न खोज्यो भनेर गलत भाष्य निर्माण गरेर गलत प्रचार भएको बताए ।

त्यस्तै उनले १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार पनि असत्य भएको बताए । ‘१२ बुँदे समझदारी दिल्लीमा गएर त्यसपछि दिल्ली हस्तक्षेपमा प्रवेश गर्यो भन्ने कुरा सत्य थिएन’, डा.भट्टराईले भने, ‘१२ बुँदेको सुरुवात हामीले नै गरेका थियौ । केपी ओली, म र नारायणकाजी ड्राफ्ट गर्दा हुनुहुन्थ्यो र अन्तिम रुप प्रचण्ड र गिरिजाबाबुहरुले गर्नुभएको हो । यस्ता कुरा इतिहासमा दोहोरिँदा अन्याय हुन्छ ।’