कहाँ छन् एम अधिकारी ? किन हरायो एम अधिकारीको खोजी !

काठमाडौं– नेपाली राजनैतिक क्षेत्रमा विभिन्न कुराहरुले तरंगित बनाइरहेको हुन्छ । कहिले भ्रष्ट्रचारको विषयले नेपाली राजनीति तरंगित बन्छ त कहिले कुर्सीको लागिको दौडधुपले नेपाली राजनीति तरंगित बन्छ । तर केही समय अघाडि एम अधिकारीको खोजीले नेपाली राजनीति तरंगित बनेको थियो ।

विभिन्न दल निकट भातृसंगठनका कार्यकताले एम अधिकारीको पहिचानको लागि विभिन्न आन्दोलन नै घोषणा गरेर मैदानमा उत्रेका थिए । तर केही समयपछि ती आन्दोलन सबै शान्त हुँदै गए तर एम अधिकारीको पहिचान खुल्न सकेन ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न बिचौलियालाई संलग्न गरेको भन्दै विवादमा आएका अर्थमन्त्री जनार्दन शर्मा सँगै एम अधिकारीको खोजी पनि आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको विवाद मिलेपछि एम अधिकारीको खोजी पनि हराउँदै गयो । र, अहिले त कुनै अत्तोपत्तो नै छैन ।

’एम अधिकारी’को नाममा विवाद सिर्जन भएपछि खोजिको लागि संसदीय समितिले छानबिन समिति बन्यो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै ’एम अधिकारी’को नाममा एमालेको अर्थ तथा योजना विभाग सदस्य भएको आरोपमाथि छानबिन गर्न थाल्यो ।

विभिन्न भातृसंगठनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै ’एम अधिकारी’ हो भनेर आन्दोलन गरेर गभर्नर महाप्रसाद अधिकारी राजिनामा मागेको थिए । कार्यालय घेराउ गर्नेदेखि विभिन्न तरिकाले आन्दोलनले गति लिंदै थियो । र, सबैलाई आशा थियो एम अधिकारीको पहिचान खुल्छ भन्ने तर त्यसो भएन ।

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न बिचौलियालाई संलग्न गराएको पुष्टि हुने गरी प्रमाण नभेटिएको भन्दै संसदीय छानबिन समितिले सफाइ पाएसँगै जनार्दन शर्मा अर्थ मन्त्रालयमा फर्किएका थिए । त्यो सँगै एम अधिकारीको खोजी पनि हराएको थियो ।

गत जेठ १४ गते राति पूर्व नायब सुब्बा रघुनाथ घिमिरे र एक चार्टर्ड एकाउन्टेटलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोपलाई पनि एमालेले चर्को स्वरमा नउठाउने र माओवादीले पनि ’एम अधिकारी’ प्रकरणलाई नचर्काउने गरी सहमति भएको जस्तो देखिएको छ ।

जनार्दन शर्मा अर्थ मन्त्रालयमा फर्किएपछि कुनै पनि भातृसंगठनहरुले एम अधिकारीको खोजिको लागि कुनै पनि आवाज उठाएको छैन । कुनै पनि आन्दोलनहरु भएका छैनन् । आखिर प्रश्न एउटै ठाउँमा गएर रोकिन्छ, को हुने एम अधिकारी ? कहाँ छन् एम अधिकारी ?

तटस्थ बसेका विभिन्न दलका निकट भातृसंगठन पनि मौनताको घुम्टो ओढेर किन बसेका छन् ? एम अधिकारी के एउटा कल्पनाका पात्र मात्रै थिए ? जो आए र आफैं गायब भए ? किन मौन छ सबे निकाय एम अधिकारीको खोजीमा ?