जनजनको मनमनमा बस्ने गरी बालेनको अर्को कमाल, उच्चको आदेशपछि पनि रोकेनन् टुकुचा उत्खनन !

काठमाडौँ । जनजनको मनमनमा बस्ने गरी एकपछि अर्को कमाल काम गरिरहेका काठमाडौँका महानगरका मेयर बालेन्द्र साह (बालेन) टुकुचा उत्खनन कार्यलाई जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमवार) पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।

उत्खननस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए । महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए ।

उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ । अदालतले ३ वटा घरका लागि मात्रै सो आदेश दिएकाले अन्य संरचना भत्काउन बाधा नपर्ने महानगर स्रोतले बतायो ।

महानगरले टुकुचा खोला खुला गर्न डोजर अभियान सुरु गरेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गरेका थिए । रिटमा बहसपछि उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले हिजो अल्पकालीन आदेश जारी गरेको हो ।

त्यसमा निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भन्ने कुनै आधार, कारण र प्रमाण उल्लेख गरी लिखित जवाफ पेश गर्न विपक्षी महानगरपालिकालाई भनेको छ ।