मधेसका जिल्लाहरुमा संविधानविरुद्ध विरोध जुलुस

मुलुकभर संविधान दिवस मनाइरहँदा मधेशमा भने संविधान विरुद्ध विरोध जुलुस गर्ने भएको छ ।

संविधानमा रहेका केही त्रुटिहरु नसच्याइएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विरोध जुलुस गर्ने भएको छ । दिउँसो तीन बजे पार्टी कार्यालयहरुवाट विरोध जुलुस निस्कने जनाइएको छ ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा समेत जुलुस निकाल्ने कार्यक्रम रहेको जनाइएको छ । लोसपाले संविधान जारी भए देखिनै विरोधका विभिन्न कार्यक्रम गर्दै आइ रहेका छन् ।

विगतमा सरकारले संविधान दिवसको अवसरमा दीपावली मनाउने घोषणा गरेसंगै तत्कालीन राजपाले व्लैक आउटको घोषणा संगै मधेश भर व्लैक आउट गरेर संविधानको विरोध गरेका थिए ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति मार्फत पार्टीका जिल्ला कमिटीहरुलाई विरोध जुलुस गर्न निर्देशन दिएका छन् । संविधानलाई लोसपाले स्वीकार गरेपनि संशोधन गर्नुपर्ने माग गर्दै संविधान जारी भएको २०७२ साल देखिनै विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

संविधान जारी हुँदा तत्कालीन सरकारले दीपावली मनाउने घोषणा गरेका दिन संविधान जलाएर विरोध गरिएको थियो । त्यो विरोधलाई साम्य पार्नकालागि प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान समेत गएको थियो ।

२०७२ साल देखी निरन्तर संविधान संशोधन, नागरिकता लगायतका मुद्दालाई लिएर आन्दोलन गरिरहेका लोसपाले माग सम्बोधन गराउन तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा १८ दिनकालागि मन्त्रिमण्डलमा समेत सहभागी भएको थियो ।