यस्तो कारण देखाउँदै अल्मुताइरीले छाडे नेपाली राष्ट्रिय टिम !

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार आफ्नो पद छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालको माध्यमबाट प्रशिक्षक पद छाडेको घोषणा गरेका कुवेती अल्मुताइरीले राष्ट्रिय टिम सम्हालेको ५ सय २५ दिनपछि आफू अलग भएको बताएका छन् ।

उनले थपेका छन्, ‘मलाई समर्थन गर्नु हुने सबैलाई धन्यवाद ! यो यात्रा उत्साह, खुसी, दु:ख र पीडासहितको रह्यो ।’

सन् २०२१ को मे २९ मा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपाली टिम सम्हालेका अल्मुताइरीको नेतृत्वमा नेपालले अन्तिम पटक यसै वर्षको जुन १४ मा एसियाकप छनोटमा इन्डोनेसियाविरुद्ध खेलेको थियो ।

उनको कार्यकाल भने विवादबाट मुक्त रहेन । सुरुमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीसँग मतभेदमा उत्रेका अल्मुताइरीको विरोधमा केही खेलाडीले विद्रोह गर्दै राष्ट्रिय टिमको प्रशिक्षण नै छाडेका थिए ।

उनको नेतृत्वमा नेपालले १७ खेल खेलेको छ ।