पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट

पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बालिकामाथि जबरजस्ती करणी गरेको समाचार हिजो साँझ केटिएम दैनिकले ब्रेक गरेको थियो ।

यस विषयमा केटिएम दैनिकले थप तथ्य फेला पारेको छ । सन्दीप र पीडित भनिएकी बालिकासँगको कुराकानी भने विगत केही महिनादेखि हुन थालेको समाचार स्रोतको दाबी छ ।

केटिएम दैनिकको सम्पर्कमा आएका स्रोतका अनुसार सन् २०२२ को मार्च २८ देखि अप्रिल ४ सम्म भएको ट्राई नेशन्स सिरिजमा राम्रो प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका खेलाडी देव खनालसँग पीडित भनिएकी बालिकाको पहिला फेसबुक मार्फत चिनजान भएको थियो ।

खनालसँग कुराकानी गर्दै जाने क्रममा उनीहरू स्न्यापच्याटमा जोडिन पुगे । नेपाल क्रिकेट सङ्घले खनाल र लामिछानेलाई काठमाडौँको कुनै एक फाइभ स्टार होटेलमा एउटै रुम बुक गरेको थियो ।

कुराकानी हुन थालेको करिब तीन महिनापछि खनालले लामिछाने आफ्नो रुम मेट भएको भन्दै दुवैको सेल्फी तस्बिर बालिकालाई पठाए ।

अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको क्रिकेट सेलिब्रेटी देखेपछि बालिकाले लामिछानेलाई स्न्यापच्याटमा रिक्वेस्ट पठाइन । रिक्वेस्ट आएको अन्दाजी ४५ मिनेटमा लामिछाने उक्त रिक्वेस्ट एसेप्ट गरे । त्यसपछि उनीहरूबिच कुराकानी हुन थाल्यो ।

सामान्य रूपमा कुराकानी भइरहेको समयमा सन्दीपले ती बालिकालाई भदौ ५ गते आइतबार भेट्न बोलाए । आफू केन्या जाने र त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न जाने भएकाले दुई महिनासम्म नेपाल नहुने भन्दै लामिछानेले बालिकालाई भेट्न आग्रह गरेका थिए ।

सुरुमा त बालिकाले भेट्न मानिनन् । दिउँसो सन्दीपले बालिकाको मोबाइलमा पटक पटक फोन गरे । कलेजमा भएकोले बालिकाले दिउँसो सन्दीपको फोन उठाउन पाइनन् । बेलुका साँझ उनीहरूबिच फोनमा कुराकानी भयो । क्लोज क्याम्पमा काठमाडौँको एक फाइभ स्टार होटेलमा रहेका सन्दीप आफ्नो सेतो कलरको निशान एक्स-ट्रायल गाडी लिएर बालिकालाई भेट्न पुरानो बानेश्वर पुगे ।

स्रोतका अनुसार, बालिकाको उद्देश्य सन्दीप लामिछानेजस्तो स्टार खेलाडीसँग सँगै बसेर कफी खाएको फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने मात्र थियो ।

लामिछानेले पुरानो बानेश्वरबाट बालिकालाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिनामंगल, कोटेश्वर हुँदै नगरकोट पुर्‍याए ।

नगरकोटको एक रिसोर्टमा पुग्दा बेलुकाको ८:३० भएको थियो । केटिएम दैनिकले उक्त रिसोर्टमा सम्पर्क गर्दा सोही दिन लामिछाने एक जना युवती (उनीहरूकै भनाई मा) त्यहाँ पुगेको पुष्टि गर्‍यो । हामीलाई उक्त रिसोर्टले दिएको जानकारी अनुसार उनीहरूले त्यहाँ खाजा सेट खाएर बेलुका ११:०० बजे फर्केका हुन् । रिसोर्टले प्रहरीलाई लामिछानेले फोन पे मार्फत होटेलमा तिरेको बिलको डिटेल्स, उनीहरूलाई सर्भ गरेको स्टाफको बयान उपलब्ध गराएको जनाएको छ । हामीले उक्त रिसोर्टमा सम्पर्क गर्दा प्रहरी अधिकारीहरू पनि अनुसन्धानको लागि त्यहाँ पुगेका थिए ।

बालिकाले रक्सी खान मानिनन्

रिसोर्टमा पुगेपछि लामिछानेले बालिकालाई मादक पदार्थ अफर गरे । बालिकाले आफूले मादक पदार्थ सेवन नगर्ने र जसरी पनि काठमाडौँ जाने बताएपछि लामिछानेले बुक गरेको भिआइपी रुम त्यतिकै छाडेर फर्किन बाध्य भए । स्रोत भन्छ, बालिका रुममा नजाने भन्दै गाडीमै गएर बसेपछि लामिछाने काठमाडौँ फर्किन बाध्य भएका हुन् ।

काठमाडौँ आउँदा बेलुकाको ११:५५ भएको थियो । बालिकाले आफ्नो मोबाइलबाट लामिछानेको तस्बिर लिन खोज्दा लामिछानेले बालिकाको मोबाइल खोसे र आफूले लगाएको मास्क बालिकालाई लगाउन लगाए । मध्यरात पनि भएकाले बालिका आफू बस्ने ठाउँ जान अप्ठ्यारो हुने बताएपछि लामिछानेले काठमाडौँको पिंगलास्थानमा रहेको एक होटेलमा रुम बुक गरेको स्रोतको दाबी छ ।

होटेलमा दुई वटा रुम बुक गर्न बालिकाले कर गरेपछि होटेलमा एउटा मात्र कोठा उपलब्ध भएको भन्दै लामिछानेले बालिकालाई अर्को उपाय नभएको बताए । सुरुमा बुक गरिएको रुमको एसी बिग्रिएकाले उनीहरू एक तलामाथिको रुममा सरे ।

केटिएम दैनिक पिङ्लास्थानको उक्त होटेलमा सन्दीपको सोही दिन इन्ट्री हो कि हैन भनेर पुष्टि गर्न खोजेको थियो । हाम्रो सम्पर्कमा आएका होटेल व्यवस्थापनमा उच्च तहका कर्मचारीले अनुसन्धानमा रहेको विषय हुनाले प्रहरीलाई सम्पूर्ण विवरण उपलब्ध गराएको भन्दै सञ्चारमाध्यमसँग कुरा गर्न आनाकानी गरे । प्रहरी स्रोतले भने उक्त होटेलको कोठा नम्बर ३०५ मा दुई जना बसेको पुष्टि गर्‍यो ।

स्रोत भने लामिछाने उक्त होटेलको ब्रान्ड एम्बेस्डर भएको बताउँछ । यस विषयमा होटेलका कर्मचारीले भने आफूहरूलाई थाहा नहुने बताउँदै भने, ‘होटेल मालिक र उहाँहरूबिच कस्तो सम्बन्ध छ त्यो हामीलाई थाहा हुने कुरा भएन ।’ होटल मालिकसँग भने केटिएम दैनिकले सम्पर्क स्थापित गर्न सकेन ।

लामिछाने विदेश जानेबेलामा सोही होटेलका मालिक लामिछानेलाई एयरपोर्टसम्म पुर्‍याएको तस्बिर पनि हामीले फेला पारेका छौँ ।

दुई पटक करणी गरेको दाबी

प्रहरीमा परेको जाहेरीमा सन्दीप सुरुमा सोफामा पल्टिएको उल्लेख गरिएको छ । भदौ ६ गते बिहान (१२ बजे पछि) लामिछानेले बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । बालिका रुन, कराउन, चिच्याउन थालेपछि लामिछानेले कुटपिट गर्दै बालिकामाथि पुनः करणी गरेको पीडितले प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ ।

बिहान लामिछानेले बालिकालाई होस्टेल पुर्‍याइदिएर ७:०० बजे आसपासको समयमा पिसिआर परीक्षण गर्न गएको समाचार स्रोत बताउँछ । सोही दिन बेलुका लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोली केन्या गएका थिए ।

लामिछाने ती युवतीलाई स्न्यापच्याट लगायत विभिन्न म्यासेजिङ प्लेटफर्ममा ब्लक गरेको स्रोत बताउँछ ।

उजुरी गर्ने नगर्ने बारे परिवारमा छलफल

आफूमाथि जबरजस्ती करणी जस्तो जघन्य अपराध भएपछि विक्षिप्त बनेकी बालिकाले उक्त कुरा घरमा भन्न डराइन । केही दिनपछि कलेज पढ्ने एक जना साथीसँग उनले उक्त कुरा शेयर गरिन् । साथीले परिवारलाई खबर गर्दै प्रहरीमा उजुरी गर्नुपर्नेमा जोड दिइन् ।

परिवारलाई कन्भिन्स गराएर पीडित बालिकाले मङ्गलवार साँझ प्रहरीमा उजुरी गरेकी हुन् ।

यो सामाग्री बालिकाको आफन्तसँग गरिएको कुराकानीमा आधारित हो । केहि कुराकानीलाई पुष्टि गर्न हामीले प्रहरी र होटेलमा सम्पर्क गरेका हौं । होटेल र रिसोर्टको नाम उल्लेख गरिएको छैन । हामीले पीडक भनिएको पक्षसँग पनि सम्पर्क गर्न कोशिस गरिरहेका छौं ।