जनार्दनले गठन नै नभएको संगठन विभाग प्रमुख आफैंलाई घोषणा गरेपछि..

काठमाडौं । अध्यक्ष प्रचण्डकै उपस्थितिमा माओवादी केन्द्रको उपमहासचिव पद अश्वीकार गरेका अर्थमन्त्री जनार्दन शर्माले आफूलाई संगठन विभागको प्रमुख घोषणा गरेपछि पार्टी पंक्तिमा खैलाबैला मच्चिएको छ ।

महासचिव चयनमा असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट व्यक्त गरेका शर्माले अखिल क्रान्तिकारीको कार्यक्रममा आफू संगठन विभागको प्रमुखको हैसियतमा बोलिरहेको बताएका थिए । सो मञ्चमा प्रचण्ड र जनार्दनबीच दोहोरीसमेत चलेको थियो ।

यता माओवादी नेताहरूले भने पार्टीको महाधिवेशनपछि विभागहरू गठन नै नभएकाले संगठन विभाग नै अस्तित्वमा नरहेको बताएका छन् । महाधिवेशनपछि केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमात्र चयन भएका छन् ।

त्यस्तै अनुशासन आयोग र लेखा आयोग महधिवेशनपछि बनेका छन् । तर, संगठनलगायत अहिले कुनै पनि विभाग अस्तित्वमा नरहेको र कृष्णबहादुर महराले प्रवक्ताको भूमिका निर्वाह गरिरहेको माओवादीले जनाएको छ ।

माओवादी पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले महाधिवेशनपछि पार्टीमा कुनै पनि विभाग गठन नभएको बताए । उनले पुरानै जिम्मेवारी सम्झेर जनार्दनले आफूलाई संगठन विभाग प्रमुख दाबी गरेको हुनसक्ने टिप्पणी गरे ।

महाधिवेशनअघि माओवादीले कार्य विभाजन गर्दा वर्षमान पुनलाई महासचिवले गर्ने कामसहित केन्द्रीय कार्यालय कमाण्डको जिम्मा दिएको थियो भने जनार्दन शर्माले संगठन विभाग पाएका थिए । शर्माले अखिल क्रान्तिकारीको कार्यक्रममा महाधिवेशनपछि पनि आफूलाई नै संगठन विभाग प्रमुख घोषणा गरेको टिप्पणी नेताहरूको छ । त्यसबाट समेत प्रचण्ड आक्रोशित बनेको बताइएको छ । nepalpress