लमजुङ र गोर्खाका साढे ६ हजार विद्यार्थीलाई हिमानीले शैक्षिक सामाग्रीहरु वितरण गर्ने

काठमाडौँ :

लमजुङ र गोरखाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई हिमानी ट्रष्टले शैक्षिक सामाग्रीहरु वितरण गर्ने भएको छ। लमजुङ र गोरखा गरी दुई जिल्लाका साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गर्न लागेको हो ।

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रममा बिहीबार काठमाडौँबाट र पूर्वयुवराज्ञी हिमानी शाह लमजुङ जाने कार्यक्रम रहेको बताइएको छ । लमजुङको बेंसीसहर–७ स्थित आमा समूह भवनमा बिहान ११ बजे हुने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिनेछ।

भदौ २४ गते लमजुङमा र भदौ २५ गते गोरखामा उक्त कार्यक्रम राखिएको छ।ट्रष्टले लमजुङमा १ हजार ४६९ छात्र र १ हजार ४६३ छात्रालाई ती सामाग्री प्रदान गर्ने तथा गोरखामा भदौ २५ गते गोरखा बजारको शक्ति माध्यमिक विद्यालयमा बिहान ११ बजे विभिन्न गाउँपालिकाका १ हजार ८८९ छात्र र १ हजार ८६५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने जनाएको छ ।