प्रचण्डलाई उत्तराधिकारीकाे चिन्ता !

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने सपना रहेको बताउनुभएको छ ।

आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाण्डाैमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयार होउन् भन्ने आफ्नो सपना रहेको बताउनुभयो ।

उहाँले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ । जनयुद्धको पनि नेतृत्व गरेँ । संविधान सभाको पनि नेतृत्व गरेँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरा लागि धेरै चिज भएकै छ । अब मेरो सपना भनेकाे राम्रो उत्तराधिकारीहरू तयार हुन् भन्ने हाे । तिनले सिङ्गाे पार्टीलाई एकताबद्ध गरेर लैजाउन् ।

तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढून् । हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ ।’

अध्यक्ष दाहालले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताउनुभयो । उहाँले सडकको हिरो युवा र विद्यार्थीहरू भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताउनुभयो ।

यसैबीच कार्यक्रममा अर्थमन्त्रीसमेत रहनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी सङ्गठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

सङ्गठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उहाँको भनाइ थियो । उहाँले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनुभयो । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताउनुभयो ।