आफैँले हुर्काएका जनार्दन शर्मालाई प्रचण्डको काउन्टर !

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मामाथि कटाक्ष गरेका छन् ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बुधवार काठमाडौंमा आयोजना गरेको ‘क्रा’न्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले जनार्दन शर्मालाई राजनीतिक रूपमा रक्षा गर्न र हुर्काउन आफ्नो मूख्य भूमिका रहेको बताएका हुन् ।

शर्माको अभिव्यक्तिबारे जवाफ दिने क्रममा प्रचण्डले भने, ‘जनार्दनजीले जाँदाजाँदै नीति र नेतृत्वको रक्षाको कुरा गरे । जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

आफूले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयारी होऊन् भन्ने सपना लिएको प्रचण्डले बताए । उनले भने, ‘मैले जनयु’द्धको तयारी, जनयु’द्ध, शान्ति प्रक्रिया र संविधान सभाको पनि नेतृत्व गरें । लोक’तान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें ।

मेरा लागि धेरै चिज भएकै छ । अब मेरो सपना राम्रो उत्तराधिकारीहरू तयारी होऊन् । तिनले समग्र पार्टीलाई एकतावद्ध गरेर लैजाऊन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कूलिङ गरून् । हजारौं र लाखौं उत्तराधिकारी तयार होऊन् ।’

प्रचण्डभन्दा अगाडि बोलेका शर्माले आफू प्रचण्डको आलोचक रहेको तर सधैं नीति र नेतृत्वको रक्षा गरेको अभिव्यक्ति दिएका थिए । शर्माले भनेका थिए, ‘नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु । नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ । नीति र नेतृत्वको रक्षा गर्दै आएको छु ।’

पार्टीमा पदाधिकारी चयनपछि प्रचण्ड र शर्माबीचको सम्बन्ध चिसिन थालेको छ । शर्माले पार्टीको महासचिव दाबी गरेको भए पनि प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए ।