अपराधिक पृष्ठभुमिबाट आएका गुण्डा नाइकेहरुको संसद्‌यात्रा कति सम्भव ? राजनीतिमा एकपछि अर्को गरेर उदाउँदै गुण्डा नाइकेहरु

गुण्डागर्दीको दुनियाँमा सिन्धुपाल्चोकका राजेन्द्रबहादुर गोर्खाली ‘राजु गोर्खाली’ र गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलन नौला नाम होइनन् । तिनै राजु गोर्खाली र चक्रे मिलन ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

चक्रे मिलनलाई नेकपा एमालेले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ । गोरखा एमालेको आइतबार बसेको बैठकले उनलाई सिफारिस गरेको हो । उनीसँगै एमालेले अन्य दुई जना दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यस्तै, गोर्खालीलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आइतबार बागमती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको सिफारिस सूचीमा गोर्खालीको नाम सिन्धुपाल्चोक–२ बाट छ । सिन्धुपाल्चोक– २ बाट गोर्खालीसहित कांग्रेसले पूर्वराज्यमन्त्री विष्णुविक्रम थापासहित अन्य तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

प्रहरी अभिलेखमा चक्रे मिलन र गोर्खाली दुवै ‘ए’ श्रेणीका गुण्डा हुन् । यद्यपि अहिले भने उनीहरूको पहिचान राजनीतिक नेताको बन्न लागेकाे छ । अब जिल्ला तहबाट सिफारिस भएर आएका चक्रे मिलन र राजु गोखार्लीलाई एमाले र कांग्रेसको केन्द्रबाट उम्मेदवार बनाएर चुनाव जिते उनीहरू दुवैले ४ मंसिरपछि प्रतिनिधिसभाका सदस्यको लोगो पहिरिनेछन् । तर उनीहरूलाई पार्टीले उम्मेदवार बनाउने वा नबनाउन कुनै टुंगाे भने छैन ।

उसो त कांग्रेसको १४औँ महाधिवेशनमा गोर्खाली लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए । राजु गोर्खाली पछिल्लो समय भने काठमाडौँको चाबहिल र चक्रे मिलन स्वयम्भु बस्दै आएका छन् ।

यस्तो छ, गोर्खाली र चक्रेको ट्र्याक रेकर्ड

राजु गोर्खाली र चक्रे मिलन दुवैको अपराधको केन्द्र राजधानी काठमाडौं हो । उनीहरू दुवै जना गिटी–बालुवाको अवैध व्यापारमा संलग्न हुँदै आएका थिए । गुण्डागर्दी र अवैध धन्दाबाट आर्जित अकुत सम्पत्तिकै बलमा उनीहरूले दलीय ओत पाएका हुन् । राजु गोर्खालीले ०५९ मा काठमाडौंको दरबारमार्गको रोयल डिस्कोमा राकेश लिम्बूमाथि खुकुरी प्रहार गरी हत्या गरेकाे आराेप लागेकाे थियाे । उक्त डिस्को उनले नै सञ्चालन गर्थे ।

आफ्नोभन्दा लिम्बूको बेबिलोन डिस्को बढी चलेको भन्दै गोर्खालीले लिम्बूसँग दुस्मनी साँधेर हत्या गरेको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । पछिल्लो समय ०७५ मा काठमाडौं मलका व्यवसायीलाई धम्क्याएरै धेरै भाडा असुली गरेको अभियोगमा समेत गोर्खाली पक्राउ परेका थिए ।

Islington
dav
स्थानीय नेताहरूका अनुसार गोर्खाली तत्कालीन सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामामार्फत सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय भएका हुन् ।

त्यस्तै चक्रे मिलन महाराजगञ्ज क्षेत्रलाई आधार बनाएर आपराधिक क्रियाकलापमा सक्रिय व्यक्ति हुन् । पछिल्लो समय उनी २०७४ मा व्यवसायीलाई धाकधम्की दिएर रकम असुली गरेको अभियोगमा पक्राउ परेका थिए ।

यसअघिसमेत अवैध ठेक्कापट्टा, अवैध रकम असुली, मिटर ब्याज तथा ज्यान मार्ने उद्योगमा उनी पटक–पकट पक्राउ पर्दै छुट्दै आएका छन् । २०६१ सालमा दीपक मनाङे समूहले चक्रे मिलनलाई तरबार हानेकाे थियाे । त्यो बेला ठमेलमा मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो ।

गुण्डाहरूको राजनीतिक यात्रा

विभिन्न आपराधिक गतिविधिमा संलग्न गुण्डा नाइकेहरूको राजनीतिक साइनो नयाँ परिघटना अब रहेन । खुँखार आपराधिक कार्यमा संलग्न भएका कतिपय व्यक्ति अहिले सत्ताभोग गरिरहेका छन् भने कतिपय राजनीतिक दलमा महत्त्वपूर्ण पदमा आसीन छन् ।

दीपक मनाङे गण्डकी प्रदेश सरकारका मन्त्री छन् भने गणेश लामा ०७४ को चुनावमा नेपाली कांग्रेसका उम्मेदवार हुन् । नेकपा एमालेको समर्थनमा गुण्डागर्दी पृष्ठभूमिका राजीव गुरुङ उर्फ दीपक मनाङे मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री छन् ।

गणेश लामालाई गुण्डागर्दीको दुनियाँमा छिराउने पात्रसमेत मनाङे हुन् । ठमेलमा रेस्टुराँको बाउन्सर हुँदै लामा मनाङेको संगतमा पुगेका थिए । मनाङेबाट छुट्टिएर ठेक्कापट्टा, असुलीमा संलग्न भएर गणेशले आर्थिक उपार्जन बढाएका थिए ।

विसं. २०६० को दशकको उत्तरार्द्धमा उभारमा आएको रक्तचन्दन तस्करीमा गणेश लामाको समूह काभ्रे क्षेत्रमा सक्रिय थियो । यसमा प्रहरीका उपल्ला अधिकारी र दलीय नेताहरूको समेत ठूलो आड थियो ।

गुण्डागर्दीको दुनियाँमा कुख्यात बनेका लामाले २०६१ सालमा मनाङे समूह छोडेर छुट्टै आफ्नो काभ्रेली समूह निर्माण गरेका थिए ।

उनी मनाङेभन्दा अघि नै राजनीतिमा छिरेका हुन् । गणेश विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका हुँदै हाल नेपाली कांग्रेसमा छन् । उनी गच्छदारसहित कांग्रेसमा पुगेका हुन् र अहिले केन्द्रीय सदस्य छन् ।

लामा ०७४ मा पशुपति भिजन होटलमा गोली चलाएको अभियोगमा जेल परेका थिए । कांग्रेसले गणेश लामालाई ०७४ को चुनावमा काभ्रे क्षेत्र नम्बर १ ‘ख’ मा प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । तर, वाम गठबन्धनका उम्मेदवार चन्द्र लामासँग उनी पराजित भएका थिए ।

०७२ यता भने प्रहरी गुण्डा नाइकेमाथि एक्सनमा उत्रियो । प्रहरीको इन्काउन्टरमा धादिङका दिनेश अधिकारी ‘चरी’, नुवाकोटका कुमार श्रेष्ठ ‘घैँटे’, रूपन्देहीका मनोज पुन र ओम आले मारिए । त्यसयता भने गुण्डा नाइकेहरू राजनीतिक ओतमा लाग्न थालेका हुन् ।

पछिल्लो समय धादिङका गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ समेत नेपाली कांग्रेसको राजनीतिमा छन् ।

उता काभ्रेका अर्का गुण्डा नाइके जितेन्द्रमान तामाङ उर्फ ‘दावा लामा’ काभ्रे भुम्लु गाउँपालिकाको अध्यक्ष नै बनेका छन् । उनीहरू दुवै प्रहरीको ‘ए’ श्रेणीका गुण्डा हुन् । श्रोत: शिलापत्र डट्कम बाट