गठबन्धनको खिलाफमा नबोल्नू भन्दै, आफ्ना नेताकार्यकर्तालाई देउवाले दिए यस्तो कडा निर्देशन !

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेता कार्यकर्ताहरुलाई कडा निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उनले गठबन्धनका विरुद्ध एक शब्द पनि नबोल्न भन्दै कडा निर्देशन दिएको एक नेताले बताएका हुन् ।

यस्तै, देउवाले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदललाई गठबन्धन नटुट्ने गरी ‘वर्कआउट’ गर्न निर्देशन दिएका छन् ।

“गठबन्धनको खिलाफमा कसैले नबोल्नू । गठबन्धन व्यक्तिगन निर्णय होइन, यो केन्द्रीय समिति बैठकको निर्णय हो । त्यसकारण सबैको एक स्वर हुुनुपर्‍यो,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, “कार्यदलमा हुनेहरूले गठबन्धन नटुट्ने गरी वर्कआउट गर्नू । सबैलाई सम्मान हुने गरी सिट मिलाउनुहोस् ।”

सभापति देउवाले निर्वाचनपछि पनि गठबन्धन निरन्तर हुनुपर्ने भन्दै सिट बाँडफाँटमा लचक बन्न कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।