एमालेलाई लाग्यो १२० भोल्टको झड्का, एमालेका अध्यक्षले नै छोडे पार्टी

१६ भाद्र २०७९, धनगढी ।

एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन् ।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए ।

‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’

आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए ।

यो पनि हेर्नुहोस, प्रधानमन्त्रीले निर्देशन दिँदासमेत किन सुल्झिएन त्रिविको समस्या ?

पाँच महिना अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्यो । तालाबन्दी गरेको १० औँ दिनमा त्रिविका पदाधिकारीहरू विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगे ।

भेटमा त्रिविमा भइरहेको तालाबन्दीका विषयमा जानकारी गराए । पदाधिकारीहरू जानुभन्दा पहिला नै अर्कै समूहले प्रधानमन्त्रीलाई तालाबन्दीबारे जानकारी गराइसकेको रहेछ । त्रिविमा नेविसंघको आवरणमा एक गिरोह सक्रिय रहेको र अराजकता सिर्जना गर्दै आएको जानकारी प्रधानमन्त्री समक्ष पुगेको रहेछ । पदाधिकारीहरूले तालाबन्दीबारे जानकारी गराउँदा देउवा आक्रोशित भए ।

प्रधानमन्त्रीले तत्कालै गृहमन्त्रीलाई फोन गरेर तत्काल ताला फोड्न निर्देशन दिए । ‘प्रधानमन्त्रीज्यूले हामी त्यही हुँदा फोन गरेर ताला फोड्ने निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीज्यूबाटै निर्देशन आइसकेपछि अब खुल्छ होला भन्ने आश थियो । तर खुलेन,’ त्रिविका एक पदाधिकारीले भने । प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्देशन दिएको ४० दिन बितिसक्यो । तर, ताला खुलेन । तालाबन्दी भएको ५० औं दिनसम्म तालाबन्दी नखुलेपछि पदाधिकारीहरू पुनः प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ।

‘५० औं दिनमा पुनः भेटेर लौ न ! प्रधानमन्त्रीज्यू के गर्ने होला ? लफडै लफडा भयो । तालाबन्दी पनि खुलेन भनेर हामीले भन्यौँ । त्यसपछि उहाँ निकै आक्रोशित हुनुभयो,’ भेट्न पुगेका ती पदाधिकारीले भने, ‘आक्रोशित भएर २÷३ जनालाई फोन गर्नुभएको थियो । के जवाफ दिए थाहा भएन । त्यसपछि खुल्छ भन्नुभएको थियो । तर, खुलेन ।’

त्यसपछि स्थानीय तहको निर्वाचन भयो । त्यो बेला तालाबन्दी यथावत रह्यो । निर्वाचन सकिएपछि पदाधिकारीहरू पुनः प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे । ‘त्यो बेला हामीहरूकै सामुन्ने गृहमन्त्रीलाई फोन गरेर झपार्नुभयो । तालाबन्दी खोल्न लगाउनुहोस् र तालाबन्दी गर्ने गिरोहको नाइकेलाई पक्राउ गरेर कारवाही गर्नुहोस् भनेर निर्देशन दिनुभयो,’ ती पदाधिकारीले भने ।

प्रधानमन्त्रीको कडा निर्देशनपछि भोलिपल्ट विज्ञप्ति जारी गर्दै तालाबन्दी खुल्यो । तालाबन्दी खुलेपछि त्रिविका अधिकारीहरूलाई सहजै रूपमा काम गर्न सकिन्छ होला भन्ने लागेको थियो । तर, त्यसो हुन सकेन । पुनः तालाबन्दी गरियो । यसरी विगत ५ महिनाभन्दा बढी समयदेखि त्रिवि तालाबन्दीमा छ । जसले गर्दा १५ महिना बितिसक्दा पनि परीक्षाफल प्रकाशन गर्न सकेको छैन भने वार्षिक कार्यतालिकाअनुसार काम गर्न सकिरहेको छैन ।

१० गतेको त्यो घटना

त्रिविको रजिष्ट्रार कार्यालयमा तोडफोड, तालाबन्दीले गर्दा बैठक गर्न सक्ने अवस्था थिएन । बैठक बस्ने अवस्था भएन भनेर पन्छिने कुरा पनि भएन । त्यसपछि जमलस्थित एलो प्यागोडा होटलमा कार्यकारी परिषद्को बैठक बस्ने निष्कर्षमा पुगे ।

यही १० भदौमा सबै पदाधिकारीहरू त्यहाँ पुगे । बैठक बसिरहेकै बेला बेलुका ६ बजेतिर नेविसंघका त्रिवि सचिव योगेन्द्र रावल लगायतको एक समूह पुग्यो । त्यहाँबाट जबरजस्ती कार्यकारी परिषद्ले गर्न लागेको माइन्यूटको कपी, प्रस्ताव लगायतका कागजात खोसेर लग्यो ।

खोसिएको कागजात उनीहरूले शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझाए । बैठकस्थलबाटै महत्वपूर्ण कागजात लुटेर लगेपछि त्रिवि प्रहरीमा उजुरी दिने निष्कर्षमा पुग्यो । तर, प्रहरीले किटानी जाहेरी दर्ता गर्न आजसम्म पनि मानेको छैन । आइतबार बिहान प्रहरी वृत्त दरबारमार्गमा जोहरी दर्ताका लागि त्रिवि अधिकारी पुगेका थिए । तर, डीएसपी साप बाहिर जानुभएको छ, उहाँले तोक नलगाई हुँदैन भनेर फर्काइयो । पछि फोन गरेर आउनु भनियो ।

पछि फोन गर्दा लुटिएको ठाउँ प्यागोडा होटल पुगेर बुझेपछि मात्रै जाहेरी लिने बताइयो । त्यसपछि अहिलेसम्म बोलाइएन । ‘हिजो बुझ्दा तपााईंहरूको लुटिएको सामान भेटियो । उता शिक्षा मन्त्रालयमा बुझाइएको रहेछ, उतै गएर लिनुहोला । अब जाहेरी दर्ता पनि गर्नुपर्दैन । जाहेरी दर्ता गराउँदा फेरि अर्को लफडा हुन्छ । त्यहीबाट लिएर जानुहोस् भने,’ ती पदाधिकारीले बताए ।

त्यसपछि त्रिवि पदाधिकारीले जाहेरी दर्ता नगराउँदासम्म्म कागजात नलिने अडान राख्दै आएका छन् । जसले गर्दा ती कागजात अहिले पनि शिक्षा मन्त्रालयमै छ । शिक्षामन्त्रीका स्वकीय सचिवले फोन गरेर कागजात लगेर जानुहोस् भनेका थिए । तर त्रिवि पदाधिकारीले मानेनन् ।

‘हामी त्यसरी गएर लिदैंनौं, हाम्रो के–के सामान थिए, केही सामान हरायो भने त्यसको जिम्मेवारी कसले लिने ? फेरि लुट्ने सम्भावना भयो, रेकर्डको लागि भए पनि दर्ता गराईदिनुहोस् भन्दा हैन अहिले दर्ता नगरौं भनेपछि फर्किएका थिए,’ ती पदाधिकारीले भने ।

बैठक प्यागोडामा किन ?

नेविसंघले उठाउँदै आएको एउटा माग पनि त्रिविको बैठक किन होटलमा गरिएको भन्ने छ । त्रिविले भने सुरक्षाको दृष्टिकोणले होटलमा गर्नुपरेको बताएको छ ।

आन्दोलनरत नेविसंघको समूहले उपकुलपति धर्मकान्त बाँस्कोटालाई एसएमएस पठाएको थियो । जसमा उल्लेख थियो, ‘भिसी सर आजदेखि तपाईं विश्वविद्यालय नआउनु, तपाईं आउनुभयो भने हाम्रो आन्दोलन अशान्तिपूर्ण हुन्छ । तपार्इंलाई अहिले नै जानकारी गराएँ । आउनुभयो भने त्यसको जिम्मेवार तपाईं आफैं हुनुपर्नेछ ।’ म्यासेजमा उल्लेख थियो ।

जुन दिन एसएमएस पठाइएको थियो, त्यसको भोलिपल्ट पदाधिकारीहरू विश्वविद्यालय गए । तर, काम गर्न सक्ने वातावरण बनेन ।

दोस्रो दिन प्रधानमन्त्रीका सल्लाहकारले छलफलका बोलाएका थिए । छलफलमै रहेका बेला एक जथ्था हुल प्रहरीकै अगाडि आएर तोडफोड गर्न थाल्यो । प्रहरी टुलुटुलु हेरेर बस्न बाध्य भयो ।

विश्वविद्यालयमा बस्न सक्ने र काम गर्न सक्ने वातावरण नभएपछि होटलमा कार्यकारी परिषद्को बैठक गर्न बाध्य भएको उपकुलपति बाँस्कोटा बताउँछन् ।

‘सुरक्षा थ्रेटका कारण त्रिविमा बस्न सक्ने अवस्था भएन । यसअघि पनि कुनै बेला होटलमै बस्ने गरेका थियौं । त्यहाँ गएर बस्दा पनि छोडेनन्,’ बाँस्कोटाले भने ।

त्रिविमा त्रासको माहोल

सीमित स्वार्थ समूहको अराजकताको कारण त्रिविमा त्रासको वातावरण सिर्जना भएको छ, जसले गर्दा न त्रिविका पदाधिकारीले काम गर्न सक्ने अवस्था छ, न त शिक्षकले पढाउन सक्ने अवस्था ।

विभागीय प्रमुखहरू तथा अधिकारीहरू बोल्न समेत डराउँछन् । उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएदेखि त्रिविको वातावरण अशान्त बनेको भिसी बाँस्कोटा बताउँछन् ।

विभिन्न माग राखेर कहिले कुन समूहले तालाबन्दी गर्छ, त्यो खोल्न नपाउँदै अर्को समूह तालाबन्दी गर्न थाल्छ । तालाबन्दी र स्वार्थ समूहको घेराबन्दीले काम गर्ने वातावरण नबनेको उनको भनाइ छ ।

‘हाम्रो कर्मचारीतन्त्र नै अस्तव्यस्त छ । हामी निकै त्रासको वातावरणमा काम गर्नु परिरहेको छ । सहज रूपमा काम गर्न सक्ने अवस्था छैन । त्यही भएर हामीले सुरक्षा व्यवस्थाको माग गरेका हौं ।’ भिसी बाँस्कोटाले भने ।

दुई विद्यार्थी संगठनको प्रतिष्ठाको लडाइँ

त्रिविमा दुई विद्यार्थी संगठनको प्रतिष्ठाको लडाइँ चलिरहेको छ । अनेरास्ववियु र नेविसंघको आ–आफ्नो प्रतिष्ठाको लडाइँले गर्दा त्रिवि अनिर्णयको बन्दी बन्न पुगेको हो ।

नेविसंघभित्र देखिएका स्वार्थ समूहले अहिलेका पदाधिकारीहरूलाई काम गर्न नदिने मनसायसहित नियोजित रूपमै लागिपरेको त्रिविका एक प्राध्यापक बताउँछन् । ‘अनावश्यक माग अघि सारेर तालाबन्दी गरिराख्ने, भाँडभैलो मच्चाउने, बाहिर एउटा माग देखाउने, भित्र अर्कै राख्ने गिरोहका कारण समस्या भइरहेको हो,’ ती प्राध्यापकले भने ।

यो विषयमा प्रधानमन्त्री देउवाले समेत स्पष्ट निर्देशन दिएर भनेका छन्, ‘त्रिविमा तालाबन्दी गर्ने जोसुकै होस् पक्राउ गरेर कानूनी कारवाही गर्नू । तर, प्रधानमन्त्रीकै निर्देशनको पालना हुन सकेको छैन ।’

नेपाल प्राध्यापक संघका निवर्तमान अध्यक्ष प्राडा बुद्धबहादुर थापा त्रिविको समस्याको पछाडि सबै उत्तिकै जिम्मेवार देख्छन् ।

‘विद्यार्थीहरू पनि विद्यार्थी जस्ता भएनन्, शिक्षक पनि शिक्षक जस्ता भएनन्, पदाधिकारीहरू पनि पदाधिकारी जस्ता भएनन् । सबैले आ–आफ्नो कमजोरी औँल्याउँदै अगाडि बढ्न सकियो भने मात्र समस्याको समाधान हुन्छ । नत्र यो विषय कहिल्यै टुगिंनेवाला छैन,’ उनले भने ।

यसको प्रमुख जिम्मेवार भने त्रिवि पदाधिकारी नै भएको उनको भनाइ छ । ‘समस्या कहाँबाट सुरू भएको हो ? त्यसको समाधान के हो ? भन्ने कुरा त पदाधिकारीले सोच्नुपर्छ र पहल गर्नुपर्छ । तर, यहाँ त कुनै पहल गरेको देखिएन , प्राडा थापाले भने ।

लामो समयदेखि त्रिवि अस्तव्यस्त बनेपछि अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ घोषणा कार्यक्रम गरेको छ । भदौ १५ देखि २२ गतेसम्मका लागि पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको अखिल क्रान्तिकारी त्रिवि जिल्ला अध्यक्ष प्रदीप भट्टले जानकारी दिए ।

पछिल्लो समय प्रश्नपत्र हुबहु आएको भन्दै गत जेठमा त्रिविको अर्थशास्त्र विभाग र राजनीतिशास्त्र विभागमा तालाबन्दी गरियो । त्यसको सुरूवात अखिल क्रान्तिकारीले गरेको थियो । आन्दोलन र वार्ता सँगसँगै अघि बढेपछि त्रिविले छानविन गर्न समिति बनायो । समिति बनाएसँगै अखिलले तालाबन्दी फिर्ता लियो ।

समितिले प्रतिवेदन पेश गरेपछि त्रिविले प्रश्नपत्र हुबहु बनाउनेमाथि कारवाही गरिएको त्रिविका उपकुलपति बाँस्कोटाले बताए । तर, कारवाहीमा परेकाहरूको नाम र समितिको प्रतिवेदन सार्वजनिक गरिएन । त्यसको कारण थियो,– सुरक्षा समवेदनशीलता ।

नाम सार्वजनिक गरिएको खण्डमा उनीहरूमाथि सुरक्षा खतरा बढ्ने भन्दै त्रिविले कारवाही गरेपनि नाम गोप्य राखिएको जनाएको छ । तर, नेविसंघले त्यही विषयलाई निहुँ बनाएर पुनः तालाबन्दी गर्यो ।

सकिसकेको कुरालाई लिएर नेविसंघले तालाबन्दी गरेको अखिल अध्यक्ष भट्टको भनाइ छ । ‘त्यो प्रतिवेदन दिनुपर्छ भनेर नेविसंघले आन्दोलन उठाएको हो । अब विश्वविद्यालय दिन मान्दैन, नेविसंघ ताला खोल्दैन,’ अध्यक्ष भट्टले भने । गत आइतबार अनेरास्ववियुले ताला तोडेको थियो । तर, तोडेको केही घण्टामै नेविसंघले पुनः तालाबन्दी गरेको थियो ।

कसैले पनि समस्या समाधानको लागि पहल नगरेपछि अखिल क्रान्तिकारीले त्यसको लागि पहल थालेको भट्टको भनाइ छ ।

नेविसंघले भने अहिलेका पदाधिकारीहरू अक्षम देखिएको दाबी गर्दै आएको छ । नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले भने वार्ताको लागि तयार नहुने, एकपछि अर्को गल्ती गर्दै जाने कारणले यो समस्या देखिएको बताए । अन्यायविरुद्ध आवाज उठाउँदा अनावश्यक अफवाह फैलाइएको उनको आरोप छ ।

सत्तारुढ दल नेपाली काँग्रेसको शुभेच्छुक संगठन प्रजातान्त्रिक प्राध्यापक संघले त्रिविको समस्या समाधान गर्न त्रिविका पदाधिकारीहरू असफल प्रमाणित भएको उल्ल्लेख गरेको छ । १४ भदौमा एक विज्ञप्ति जारी गर्दै पदाधिकारीहरूको असफलताका कारण विश्वविद्यालयमा असर परेको जनाएको छ ।

उता त्रिविको समस्या समाधान गर्नको लागि शिक्षामन्त्री देवेन्द्र पौडेल सक्रिय देखिएका छन् । सबै सरोकारवाला निकायसँग उनले छलफल चलाइरहेका छन् ।