गठबन्धनमा नअटाएपछि लोसपा यता न उताको स्थितिमा, यी हुन् अबका २ विकल्प

प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनसँग मिलेर लड्ने मौका नपाएपछि लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) यता न उता भएको छ । सत्ता गठबन्धनमा मिल्न नसकेपछि कसरी चुनावमा होमिने भन्ने विषयले लोसपा थप चिन्तित बन्दै गएको छ ।

उपेन्द्र यादवसँग विचार नमिलेका कारण छुट्टै पार्टी गठन गरेका महन्थ ठाकुर सत्ता गठबन्धनमा जोडिने र सरकारमा समेत सहभागी हुने भन्दै पटकपटक प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पनि नगएका होइनन् । तर देउवासँगको भेट उनका लागि खासै फलदायी हुन सकेन ।

सत्ता गठबन्धनका दलहरुले कसले कति सिट पाउने भन्ने विषयमा सहमति जुटाउन छलफल गरिरहेका छन् । मोटामोटी रुपमा सहमति भएतापनि अहिलेसम्म कुनै ठोस निश्कर्ष भने निस्केको छैन । त्यसमा पनि अब लोसपालाई बोक्ने सत्ता गठबन्धनको कुनै रणनीति पनि छैन ।

सत्ता गठबन्धनमा नअटाएको लोसपासँग अबको विकल्प जम्मा दुईवटा छ । एक एक्लै लड्ने या नेकपा एमालेसँग मिलेर लड्ने । अहिलेसम्मको राजनीतिक घटनाक्रमले के देखाउँछ भने लोसपा र एमालेको विचार नै मिल्दैन । ओलीले ठाकुरलाई फेस गर्न गार्है छ । त्यतिमात्रै होइन राष्ट्रका हरेक मुद्दामा लोसपा र एमालेको मत प्रष्ट रुपमा विभाजन देखिएको स्पष्ट नै रहेको छ ।

त्यस्तै लोसपाभित्रै पनि दुई धार देखिन थालेको छ । केही नेताहरु एमालेसँग मिल्दा फाइदा हुने देखेका छन् भने अर्को पक्षले घाटामात्र देखेका छन् । त्यसको मतलब कोही नेताहरु एमालेसंग तालमेल गर्न चाहन्छन् भने कोही चाहँदैनन् ।

लोसपालाई गठबन्धनमा ल्याएदेखि मधेशमा उपेन्द्र पक्ष र ठाकुर पक्षलाई सिट मिलाउन समस्या पर्ने भएका कारण पनि देउवा लोसपाप्रति लचकदार देखिएका छैनन् ।