बिहानभरिमा मेयर हर्क साम्पाङको २० वटा फेसबुक स्ट्याटस

बिहानभरिमा मेयर हर्क साम्पाङको २० वटा फेसबुक स्ट्याटस
काठमाडौं। धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएर मेयर भएका हर्क साम्पाङ फेसबुक धेरै चलाएकै कारण पछिल्लो समय विवादमा छन्। राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका उनले चुनाव जितेपछि देशभरिबाट समर्थन र सहानुभूति भए पनि केही सातायता उनले लेख्ने स्ट्याटसमा कतिपयले असन्तुिष्ट जनाउँदै आएका छन्।

पहिला सडकमा एउटा हाते माइक बोकेर एक्लै पनि भ्रष्टाचारविरुद्ध आवाज उठाइरहने उनी अहिले मेयर भएपछि सेलिब्रेटी बनेका छन्। उनलाई विश्वभरका नेपालीले चिन्छन्। चुनावअघिसम्म उनलाई नपत्याउनेहरू आज उनलाई भेटेर फोटो खिच्न धरानसम्म धाइरहेका छन्। धेरैले हर्क साम्पाङ एक्कासि चर्चामा आएको ठाने पनि यसका लागि उनले धेरै लामो संघर्ष गरेका छन्।

तर, फेसबुकमा अनावश्यक विषयमा लेखेकै कारण उनले ‘त्यसो नगरिदिए हुन्थ्यो’ भन्नेहरू धेरै छन्। बिहान पाँच बजे उठ्ने र फेसबुकमा केही न केही पोस्ट गर्ने उनको दैनिकी नै बनेको छ। तर,उनी त्यही पोष्टका कारण विवादमा छन्।

त्यति मात्र होइन उनी हरेक घण्टामा फेसबुकमा स्ट्याटस पोस्ट्याउँछन्। कतिसम्म भने बिहीबार बिहान १० बजेसम्म उनले झन्डै १५ मिनेटमा एउटा स्ट्याटस पोस्ट गरेका छन्। अर्थात् बिहान पाँच बजे उठेपछि खाना खानुअघि १० बजेसम्म फेसबुकमा २० वटा पोस्ट गरेको देख्न सकिन्छ। सुरुमा राजेश पायल राईको भिडिओ सेयर गरेका उनले दोस्रोमा आफ्नो बारेमा तयार भएको गीतको स्क्रिनसट पोस्ट गरेका छन्। त्यसपछि ढुङ्गा बोकेको र ढुङ्गा फुटाएको स्टाटस पोस्ट गरेका छन्।

त्यतिमै उनी किन रोकिन्थे। ठोके फेरि अर्को स्ट्याटस। उनले लेखे, ‘‘फेसबुकमा हुँकार छाड्नेहरूले खोलामा आएर १२७५ केजीको पाइप तान्न नसघाउने? कि मध्य दिनसम्म ओछ्यानमै लडेर विरोध गरिरहने? ५० केजीको ढुङ्गा बोक्न सघाए नि हुन्थ्यो, लम्फूहरू..।’’
उनको यति पोस्ट हेर्दा लाग्छ, उनी प्रशंसाको भोका छन्। आफूले मात्रै राम्राे काम गरेको र आफ्नो योजना र भिजनमा सबै हिँड्नुपर्ने उनको घमन्ड उनको पोस्टमा छताछुल्ल भएको छ।

स्ट्याटस लेख्न उनी रोकिएनन्। पुराना आफ्ना पाइप बोकेका, ढुँगा बोकेका भिडिओ सेयर गर्नेदेखि आफ्नो बारेमा अरूले प्रशंसा गरेको पोस्ट सेयर गरेका छन्। उनले ढुँगा बोक्दा र फुटाउँदा हातमा लागेको चोटको तस्वीरदेखि आफूले रुँदै अन्तरवार्ता दिएकोसम्मका फोटो पोस्ट गरेका छन्।

गाली गर्नेलाई गाली बेइज्जतीको मुद्दा चलाइने चेतावनी
केही समयअघिसम्म सबैको वाहवाही पाइरहेका उनी काठमाडौंबाट फर्किएपछि गाली खान थालेका हुन्। उनी केही साताअघि काठमाडौं आएका थिए। फर्किएपछि संयोगबस काठमाडौंको फोहोर उठ्यो। लामोसमयअघिदेखि उठ्न नसकेको फोहोर उठेपछि काठमाडौंबासी खुसी भए। धरान पुगेर हर्कले फेसबुकमा लेखे, ‘‘म काठमाडौं गएपछि फोहोर उठ्यो।’’

अनावश्यक विषयमा बढी लेख्ने त उनको बानी नै थियो, हुँदाहुँदै नभएको कुरा लेख्न थालेपछि उनलाई गालीसमेत आउन थाल्यो। गाली खान थालेपछि झनै बढी स्ट्याटस लेख्न थालेका छन्।

स्ट्याटसमा उनले आलोचना खेपिरहेका मात्र छैनन्, गाली पनि खाइरहेकाछन्। थोरै मात्रै समर्थन पाइरहेकाछन्। तै पनि उनले आफूले अनावश्यक लेखेकाले गाली खाएको भन्ने चेत देखिँदैन गाली गर्नेहरुलप्रति लक्षित गर्दै उनले फेरि लेखिरहेकाछन्।

उनले आजै एक स्ट्याटस लेखेका छन्, ‘‘फेसबुकमा गालिगलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ! अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु!’