महाभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहिन्छ : जबरा

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे ।

बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानsf लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,’ उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षा रहेको जबराको भनाइ छ । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको भनाइ थियो । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा भनेका थिए । ‘मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो,’ उनले भने ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो । ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको छ । म विधि र पद्धतिबाट आएको हुँ,’ उनले भने, ‘पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ ।’