माओवादीको झुट खेती – कुट्ने माओवादी, कुटाइ खाने सभामुखका भाइ, नाम महेश बस्नेतको

काठमाडौं । नेपाली राजनीतिमा पुष्पकमल दाहाल प्रचण्ड भ्रमको खेती लगाउन निक्कै सिपालु हुनुहुन्छ । उहाँको पार्टी नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि त्यसरी नै भ्रमको खेती गर्न र झुटो प्रचार गर्न प्रशिक्षित भएका छन् ।

त्यसैको उदाहरण अहिले सामाजिक सञ्जालमा देखिएको छ । आफ्नै नेताहरू बिचको कुटाकुटको भिडियो राखेर एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई माओवादीको भातृ संगठन वाईसीएलका कार्यकर्ताले खेदेको भनि भ्रम फैल्याउने काम माओवादीका कार्यकर्ताले गरेका छन् । अहिले त्यो भ्रम फैल्याउने भिडियो सामाजिक सञ्जालमा आएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई माओवादीले टिकट दिएपछि माओवादीकै निवर्तमान प्रमुख अमानसिं तामाङ पक्ष बिच झडप भएको थियो । सोही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेतलाई वाईसीएलका कार्यकर्ताले खेदेको भन्दै भ्रम फिँजाउने प्रयास माओवादी कार्यकर्ताले गरेका छन् ।

माओवादीको आफ्नै भित्रको असन्तुष्टिलाई लिएर भएको झडपको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएको भन्दै यस विषयमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने महेश बस्नेतको सचिवालयले जनाएको छ ।

‘स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादी कै निवर्तमान मेयर अमानसिं तामाङ पक्षका कार्यकर्ता बिच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका युवाहरूद्वारा भौतिक आक्रमण गरेको भनि झुटा प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ’, बस्नेतको सचिवालयले भनेको छ ।

यसमा आफ्ना शुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न बस्नेतले अपिल गर्नुभएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक तत्त्वहरूलाई कानुनी कारबाहीको लागि अपिल गरिने उहाँले बताउनुभयो । ‘तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु’, बस्नेतले भन्नुभयो ।

यसै बिच सिन्धुपाल्चोकमा भएको माओवादीको आन्तरिक झडपको भिडियो राखेर एमाले पोलिटब्युरा सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतको चरित्र हत्या गरिएको भन्दै युवा संघले आपत्ति जनाएको छ ।

निर्वाचनको मुखमा आएर माओवादीले अनेक खालका भ्रम फैलाउने प्रयास गरेको भन्दै त्यसबाट सचेत हुने नेपाली जनता र एमाले नेता कार्यकर्तालाई संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले आग्रह गर्नुभयो ।

गलन नियतका साथ सार्वजनिक गरिएको सो भिडियो प्रति युवा संघको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उक्त कार्य साइवर अपराध भएकोले त्यसको विरुद्ध उजुरी गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

यसै बिच माओवादीको भातृ संगठन वाईसीएलका भक्तपुर जिल्ला समन्वय समिति संयोजक नरेश रञ्जितले समेत सो भिडियो फेक र झुट भएको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले वाईसीएलको नाम जोडेर महेश बस्नेत माथि आक्रमण भयो भनेर आएको कुरा सामाजिक सञ्जालबाट मात्र थाहा पाएको बताउनुभएको छ । ‘सामाजिक सञ्जालमा आएको भिडियो हामीसँग कुनै सम्बन्धित छैन र भक्तपुरमा कुनै मुठभेट र झडप भएको छैन’, उहाँले भन्नुभएको छ ।