ओलीलाई एमाले बैठकले चुनावपछि प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि….

काठमाडौ, ११ भाद्र । नेकपा एमालेले केपी शर्मा ओलीलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय लिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय लिएको हो ।

एमाले नेता प्रदीप ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गर्दा हलले ताली बजाएर पारित गरेको बुझिएको छ । सो निर्णय पारित गर्दा हलमा लामो समय ताली बजेको थियो ।

दुईपटक प्रधानमन्त्री भइसकेका ओली एमालेका अध्यक्ष हुन् । उनको पार्टीभित्र बलियो प्रभाव छ । ७० वर्ष कटिसकेका ओलीले पार्टी विधान नै परिवर्तन गराएर ७० वर्षको उमेरहद नै हटाउने सफलता हासिल गरेका छन् ।

एमालेले ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर चुनावमा जाने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । सत्ता गठबन्धनमा यसले चुनावपछि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने दबाब बढेको छ ।