हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह

कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि असर पुगेको भन्दै माफी मागेका छन्।

कमेडी क्याफे नामको एउटा शोमा सिंहले गरेको स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि प्रहार भएको भन्दै उनको विरोध भएको छ। उनले भिडिओमा नेवा समुदायको भाषा, खाना, महिला, तथा संस्कृतिमाथि प्रहार हुने गरी व्यंग्य गरेको देखिन्छ।

यसरी विरोध भएपछि आफूले सबै सामाजिक सञ्जालबाट भिडिओ पनि हटाइसकेको उनले जानकारी दिए।

नेवा अभियन्ताहरूले भने शनिबार नै जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पुगेर उनीविरूद्ध जाहेरी दिएका छन्।

यस व्यंग्यले नेवा समुदायमाथि अपमान भएको भन्दै उनको आलोचना भइरहेको छ। त्यसैबीच उनले शनिबार आफूबाट गल्ती भएको भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन्।

त्यस्तै पछि उनले चार मिनेटको भिडिओमार्फत् पनि माफी मागेका हुन्।

‘मैले भिडिओहरू पनि डिलिट गरेँ। सरी भनेर माफी मागेर पोष्ट पनि हालेँ। त्यसपछि पनि धेरै नै फोन आयो र माफी मागेको भिडिओ हाल्नुपर्‍यो भनेर भन्नुभयो,’ उनले भने, ‘विगत ४ वर्षदेखि मैले स्ट्यान्डअप कमेडी गर्दै आएको छु। यो मैले काठमाडौं, भक्तपुर र ललितपुरलगायत धेरै ठाउँमा पनि प्रस्तुति दिइसकेको छु। त्यतिबेला कसैको पनि चित्त दुखेको थिएन। हामीले कुन कुराले चित्त दुख्ला र नदुख्ला भनेर परिवर्तन गर्छौं।’

उनले थपे, ‘अडियन्सहरूले ठीकै छ भन्ने प्रतिक्रिया आएको र योबारे मलाई एकदमै ज्ञान नभएको, यसले चित्त नै दुख्छ भन्ने सोच्न नसकेको अवस्था हो जस्तो लाग्छ मलाई।’

उनले यो मुद्दालाई यही टुंग्याइदिन पनि अनुरोध गरेका छन्। उनले आफूले यसबारेमा रिसर्च गर्न पनि नपुगेको स्वीकारेका छन्।

‘धेरैले मबाट रिसर्च पुगेन भन्नुभएको छ। त्यो पनि हो। सबैलाई यो भन्न चाहन्छु कि यो कुरालाई यही टुंग्याइदिनुहोला। म फेरि पनि तपाईंहरूलाई सरी भन्छु,’ उनले भने,‘हँसाउने क्रममा गल्ती भएको हो। आगामी दिनमा यो कुराहरूमा म ध्यान दिनेछु।’

सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो। सिंहविरूद्ध परिसरमा ८५ जनाले जाहेरी दिएका छन्।