दीपकराज गिरीको व्यङ्ग्य – लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?

सामाजिक सञ्जालमा धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साह बीचमा जुहारी चलिरहेको बेला कलाकार दीपकराज गिरीले सोही विषयलाई लक्षित गर्दै व्यङ्ग्य गरेका छन् । मेयर हर्क साम्पाङले ठट्टा गर्दै ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कमसे कम काम त सुरु गरे ।’ भनेर सामाजिक सञ्जालमा लेखेपछि जुहारी सुरु भएको थियो ।

साम्पाङको उक्त पोस्टमा बालेनले ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी ।’ भनेर कमेन्ट गरेपछि अरू धेरै फेसबुक प्रयोगकर्ताले त्यसैमा कमेन्ट गरेका छन् । दुवै मेयर स्वतन्त्र उम्मेदवारको रूपमा एउटै चुनाव चिन्न लौरोबाट विजयी भएका हुन् ।

धेरैले सरसल्लाह आदान प्रदान गर्दै मिलेर अघि बढ्नु पर्छ भन्ने खालका प्रतिक्रिया दिइरहेका वेला कलाकार गिरीले पनि त्यस्तै किसिमको प्रतिक्रिया पोस्ट गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लट्ठी टेक्ने हो !, आपत पर्दा बजाउने पनि हो !!, लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’

छाङ्छाङ्दीमा साउनमा मात्र साढे १२ लाख भेटी
वालिङ, ३ भदौ । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै रु १२ लाख ६० हजार छसय ९९ भेटी सङ्कलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो।

मन्दिरमा दर्शनका लागि आउने भक्तजनले दान गरेको, सहयोग रसिद, आजीवन सदस्यता, चामल बिक्री, पार्किङ व्यवस्थापन, बजार बिक्री कर, भजन मण्डली, दानपेटिका, द्रुत सेवा र क्युआर कोडमार्फत उक्त भेटी सङ्कलन भएको हो । “साउन महिना महादेवको प्रिय महिना र त्यसमा पनि सोमबार विशेष दिन भएको हुँदा यहाँ भक्तजनको भीड लागेको हो”, उहाँले भन्नुभयो, “यसपटक साउन महिनाका पाँच वटा सोमबार रहेको र यहाँ आउने भक्तजनले विभिन्न शीर्षकमा दिएको भेटी सङ्कलन गरी आम्दानी बाँधेर राखेका छौँ ।”

मन्दिरमा भजन मण्डलीद्वारा भजनकीर्तन गरिने हुँदा त्यहाँ धेरै भक्तजनले भेटी चढाउने गरेको सचिव श्रेष्ठले बताउनुभयो । विभिन्न शीर्षकबाट सङ्कलन भएको भेटीलाई बैंकिङ प्रणालीमार्फत खर्च गर्ने गरिएकाले पारदर्शितामा समितिले ध्यान दिएको छ ।मन्दिरका नाममा माछापुच्छ«े बैंकसँग समन्वयमा ‘क्युआर कोड’ मन्दिर परिसरमै राखिदिएकाले पनि भेटी सिधै बैंकमा जम्मा हुने गरेको छ ।

“सङ्कलन भएको भेटीको सही सदुपयोग गरी सोहीमार्फत मन्दिरमा पूजापाठ सञ्चालन गर्ने, भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “यहाँ बर्सेनि नयाँनयाँ भौतिक संरचना तथा विभिन्न मूर्तिहरू प्रतिस्थापन गर्दै थप व्यवस्थित गर्दै अगाडि बढेका छौँ ।”

यस ठाउँमा हिमालयकी पुत्री पार्वतीको अन्तिम अङ्ग पतन भएको किंवदन्ती छ । दिवङ्गत भएकी पत्नी पार्वतीको शव लिएर हिँड्नेक्रममा बाँकी रहेको अन्तिम अङ्ग पनि पतन भएपछि पत्नी वियोगमा ब्याकुल बनेका महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको र सोही पानी पत्थर भित्रैभित्रबाट छङ्छङ् गर्दै झरेकाले यसको नामकरण ‘छाङ्छाङ्दी’ भएको धार्मिक विश्वास रहिआएको छ ।

यस मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बागलुङ, पर्वत, तनहुँलगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।