अष्ट्रेलियामा रहेका नेपालीहरूका लागि आयो अर्को दुखद खबर !

काठमाडाैँ । आगामी नोभेम्बरदेखि अष्ट्रेलियामा नयाँ नियम लागू हुने भएको छ। त्यहाँको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वाहकले गाडी चलाउन नपाउने भएका छन्। यो नियमले अब नेपालीलाई निकै झन्झटिलो र कठिन हुने देखिन्छ।

यसअघि अष्ट्रेलिया बाहिरबाट आएका मानिसहरूले उनीहरूकै देशको लाइसेन्सबाट निर्वाध रूपमा गाडी चलाउन पाउँदै आएका थिए। तर पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना र लापरबाहीलाई ध्यानमा राखेर नोभेम्बरदेखि अस्ट्रेलियन राज्य सरकारले अन्य कुनै पनि विदेशी लाइसेन्सवाहकलाई सवारीट्ठ चलाउन रोक लगाउने भएको हो।

यो सँगै अन्तर्राष्ट्रिय लाइसेन्स होल्डरले नोभेम्बरबाट एनएसडब्लु राज्यमा गाडी चलाउन तीन महिना भित्र अस्ट्रेलियन लाइसेन्स लिनुपर्नेछ।

हाल हजारौं नेपाली विद्यार्थीले आफ्नो लाइसेन्सबाट निर्वाध रूपमा अस्ट्रेलियन शहरमा गाडी चलाउँदै आएका थिए। सरकारको नयाँ निर्णयले धेरैलाई अप्ठ्यारो पर्नसक्ने देखिएको छ।

अस्ट्रेलियन लाइसेन्स लिन मापदण्ड पुरा गर्न, त्यसको प्रमाणीकरणदेखि धेरैखाले परीक्षणको सामना गर्नुपर्ने हुन्छ। जुन निकै झन्झटिलो र कठिन मानिन्छ। त्यति मात्र नभइ अस्ट्रेलियन सडक जरीवाना र लाइसेन्सको मेरिट प्वाइन्ट्समा समेत अन्तर्राष्ट्रिय लाइसेन्सको दुरूपयोग भएपछि कडाइका साथ नयाँ नियम लागू हुने भएको हो।

यताको लाइसेन्सवाहकले आफ्नो लाइसेन्स बचाउन विद्यार्थीको लाइसेन्स दुरूपयोग गर्ने गरेको डेलिमेल समाचारमा उल्लेख छ। नेपालसँगै चीन र भारतसहित अन्य मुलुकबाट अष्ट्रेलिया आएकाहरूले सवारी चलाउन अब अस्ट्रेलियन लाइसेन्स अनिवार्य लिनैपर्ने हुन्छ।

धेरै नेपाली विद्यार्थीले नक्कली लाइसेन्सको प्रयोग गरी यहाँको सुविधाको गलत फाइदा उठाइरहेको प्रश्न उठिरहेको बेला यो नयाँ नीति सार्वजनिक हुनु स्याल कराउनु र बाख्रा हराउन एकैचोटी जस्तै भएको छ।

यस्तै जर्मनी, बेलायत र अमेरिकाजस्ता मुलुकको सवालमा भने उताको लाइसेन्सले यता सहजै अस्ट्रेलियन लाइसेन्समा ट्रान्सफर हुने जनाइएको छ।

गत वर्ष एक नाइजेरियन लाइसेन्सधारीले अन्धाधुन्ध सवारी चलाउँदा हन्टर क्षेत्रमा हफरकम्यान नामक व्यक्तिको मृत्यु भएपछि सो परिवारले अन्तर्राष्ट्रिय लाइसेन्सलाई प्रतिवन्ध लगाउनुपर्ने आवाज उठाएको थियो।

अन्य सवारी दुर्घटनामा समेत अन्तर्राष्ट्रिय लाइसेन्सवालाको उल्लेख्य सहभागिता देखिन थालेपछि एनएसडब्लु सरकारले नोभेम्बरदेखि लागू हुनेगरी केही मुलुकबाहेक सबैखाले अन्तर्राष्ट्रिय लाइसेन्सधारीले आफ्नो लाइसेन्सलाई अस्ट्रेलियन लाइसेन्समा रूपान्तरित गर्नुपर्ने भएको हो।

भिक्टोरियामा ६ महिना र नर्दन टेरोटोरीमा तीन महिना भित्र अन्तर्राष्ट्रिय लाइसेन्सवाहकले स्थानीय चालक अनुमति पत्र प्राप्त गर्नुपर्ने नियम छ।