आफ्नै पार्टीको मुख्यमन्त्रीका विरुद्धमा उत्रियो माओवादी केन्द्र !

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आफ्नै पार्टीका मुख्यमन्त्रीको बिरुद्धमा नेकपा माओवादी केन्द्र उत्रीएको छ ।

कार्यकाल सकिनै लाग्दा पनि जनता र प्रदेशको विकासको पक्षमा काम नगरेको भन्दै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिचोलन भट्टले मनपरी गरेको, विकास गर्न नसकेको, मुख्यमन्त्रीकै कारण पार्टी लज्जित भएको आरोप लगाउदै खेद प्रस्ताव नै पारित गर्दै बिरुद्धमा उत्रीएको हो ।

डेढ महिनाअघि कैलालीमा बसेको पार्टीको बैठकले मुख्यमन्त्रीले मनपरी गरेको, विकास गर्न नसकेको, मुख्यमन्त्रीकै कारण पार्टी लज्जित र कमजोर भएकोलगायतका आरोप लगाउँदै विशेष खेद प्रस्ताव पारित गरेको एक पदाधिकारीले बताएका हुन् ।

उनका अनुसार सो निर्णयको जानकारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केन्द्रीय कार्यालयलाई गराइएको छ ।

प्रदेशका एक पदाधिकारीले भने, “उहाँमा जनता र पार्टीप्रति कुनै जिम्मेवारीवोध देखिएन । विकास निर्माण र जनताको काममा पुरै बेवास्ता गर्नुभयो । पार्टीकै निर्देशन नमान्ने प्रवृत्ति देखियो । मुख्यमन्त्रीको कार्यशैलीले पार्टीदेखि जनतासम्ममा निरासा छायो । पाँचवर्ष बित्न लाग्दा पनि देखिन लायक एउटा पनि काम नगरेपछि बाध्य भएर खेद प्रस्ताव पारित गर्नुपरेको बताए ।”

मुख्यमन्त्रीकै कारण पार्टीको साख घट्दै गएको भन्दै केही समयअघि माओवादीकै नेताहरुले मुख्यमन्त्री फेर्न अध्यक्ष प्रचण्डलाई दबाबसमेत दिएका थिए । तर मुख्यमन्त्रीले राजीनामा गर्दा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दाबी गर्ने भन्दै तत्काल केही कदम नचाल्ने प्रचण्डले बताएका थिए ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल एकीकृत समाजवादी हो । उसकै बहुमत रहेको हुँदा मुख्यमन्त्रीमा दाबी उसैको रहने भएकाले पनि प्रचण्ड मौन रहेको बताइएको छ ।

डोटीबाट प्रदेशसभा जितेका भट्ट तत्कालीन नेता लेखराज भट्टको जोडबलमा मुख्यमन्त्रीमा पुग्न सफल भएका थिए ।

त्यतिबेला कैलालीबाट निर्वाचित बीरभान चौधरी पनि मुख्यमन्त्रीको दौडमा थिए । अन्तिम समयमा आएर लेखराज भट्टले त्रिलोचन भट्टलाई नै मुख्यमन्त्री बनाउन प्रचण्डसँग अडान लिएका थिए ।

लेखराजको समेत पुख्र्यौली घर डोटी भएकाले उनले त्रिलोचनलाई मुख्यमन्त्री बनाए । मुख्यमन्त्री भइसकेपछि भने लेखराज र मुख्यमन्त्री भट्टबीच दुरी बढ्दै गयो । पछि बोलचाल समेत बन्द भएको नेताहरु बताउँछन् । लेखराज हाल एमाले सचिव छन् ।

पार्टीकै नेताहरुसँग बोल्दैनन् मुख्यमन्त्री भट्ट

माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री भट्ट पार्टीका धेरैजसो नेताहरुसँग बोलचालसमेत गर्दैछन् । उनले आफुविरोधी नेताहरुका योजना समेत कटौती गर्ने गरेको नेताहरु बताउँछन् ।

मुख्यमन्त्रीबारे प्रदेशका मात्रै होइन केन्द्रीय नेताहरु समेत रुष्ट छन् । एक नेताले भने, “उहाँको बारेमा कसैले केन्द्रीय कार्यालयमा गुनासो गरे उहाँले त्यो नेता–कार्यकर्तालाई दुश्मनै ठान्ने गर्नुहुँदो रहेछ । जनताकै कामका लागि समय माग्दा पनि भेट नदिने उहाँको बानी रहेछ । अब समय थोरै छ । यस्तो बेलामा मुख्यमन्त्री फेर्ने कुरा पनि त्यति राम्रो हुँदैन भनेर चुप लागेका हौं ।”

भट्ट सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय नेतृत्वसँग समवन्यमा छैनन् ।

पार्टीले आफ्नाविरुद्ध खेद प्रस्ताव पारित गरेपछि उनले सुदूरपश्चिममा माओवादी नै नरहेको बताउँदै आएको नेताहरु बताउँछन् ।