जापान पुगेर प्रचण्डले सिन्जो आबे नेपाल आएको भनेपछि ओलीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा गठबन्धन बनाउने निर्णय ‘डुब्न लागेकाको त्यान्द्रो’को सहारा भएजस्तै रहेको टिप्पणी गरेका छन्। उनले अहिले उनीहरुको भाग्यमै गठबन्धन अनिवार्य शर्त भएको बताएका छन्।

उनले भने, ‘हिन्दीमा भनिन्छ नि- डुब्तेको तिन्केका सहारा। डुब्दै गर्दा त्यान्द्रो समातेर बाँच्न खोज्छ। यी सबै डुब्न लागेकाहरु हुन्। एकले अर्कालाई निकालिदिए त हुन्थ्यो तर डुबिएला भनेर एकले अर्कालाई समातेको छ। सबै डुब्न बेर छैन।’

गएको निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले डुब्नबाट बचाएको दाबी गरे। अहिले उक्त पार्टी आफूलाई नेपाली कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको बताए।

उनले थपे, ‘बिहान- हामीलाई हेप्यो। यस्तै चाल हो भने अर्कै मोर्चा बनाउँछौं भन्छन्। अलिक दिउँसो अलि–अलि डराउँछन् भन्छन्- मोर्चा कायमै राख्नुपर्छ। बेलुकातिर आएपछि भन्छन्- चुनावपछिसम्मै कायम राख्नुपर्छ।’

उनले छट्पटी भएपछि अलि नधम्क्याइ टेर्दैनन् भनेर धम्क्याउने र डराएपछि फेरि गठबन्धन बनाएर जाने सिलसिला चलिरहेको बताए। उनले अहिले एमालेविरुद्ध कम्युनिष्ट विरोधी, प्रगति विरोधी र राष्ट्रियता विरोधि एक ठाउँ आइपुगेको उल्लेख गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दे उनले भने, ‘भन्नलाई जे पनि भन्छन्। नेपालै नआएकोसँग तीनपटक दोस्ती हुँदो रहेछ। मौका मिले भनिहाल्दो रहेछ मान्छे।’

जापान पुगेका दाहालले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको बताएका थिए। त्यस्तै पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २/३ पटक कुराकानी भएको पनि उनले दाबी गरेका थिए। दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको उल्लेख गर्दै भने, ‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो ।’

उनले गठबन्धन एमालेलाई रोक्नका लागि मात्रै बनेको बताए। एमालेले गएको तीन वर्षमै २० वर्षमा हुन नसकेको काम आफूले गरेको दाबी गरे। एमाले लोकप्रिय भएर अरुको अस्तित्व संकटमा परेपछि अनेकक आरोप लगाइएको बताए।