नयाँ कलाकारसहित आउँदैछ ‘द कपिल शर्मा शो’, फर्केलान् सुनील ग्रोवर?

टिभी कार्यक्रम ‘द कपिल शर्मा शो’ को नयाँ सिजन आउने भएको छ।

भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार द कपिल शर्मा शोमा अबको सिजनमा नयाँ अनुहारहरू पनि देखिनेछन्। कपिल शर्माले चलाउने यो कार्यक्रम सोनी इन्टरटेन्मेन्ट च्यानलमा आउनेछ।

द कपिल शर्मा शोको टिमले सामाजिक सञ्जालमार्फत् कार्यक्रम चाँडै सुरू हुने जानकारी दिएको हो।

टिमले सामाजिक सञ्जालमा लेखेको छ, ‘भारतीय टेलिभिजनको सबभन्दा चर्चित कार्यक्रम द कपिल शर्मा शोको नयाँ सिजन आउँदैछ र यसपालि परिवारमा नयाँ सदस्यहरू थपिएका छन्।’

कार्यक्रममा को को नयाँ कलाकार आउँदै छन् भन्नेबारेमा भने टिमले कुनै जानकारी दिएको छैन। तर कार्यक्रममा नयाँ सदस्य थपिने कुरासँगै प्रशंसकहरू उत्साहित र जिज्ञासु भएका छन्। उनीहरू सबैजसोले कार्यक्रममा सुनील ग्रोवर पनि देखिने छन् कि भन्ने आशा र प्रश्न राखेका छन्।

सुनील ग्रोवर कपिल शर्मा शोमा डाक्टर मसूर गुलाटीको भूमिकामा चर्चित थिए। यसबाहेक गुथ्थी र अन्य भूमिकामा पनि उनी कार्यक्रममा सक्रिय थिए।

प्रशंसकहरूले कपिलको टिमलाई यो कार्यक्रममा सुनीललाई मिस गरेको भन्दै उनलाई फेरि बोलाउन आग्रह गरेका छन्। केहीले डाक्टर गुलाटी कार्यक्रममा फर्किने भए यो कार्यक्रम अर्कै स्तरमा पुग्ने पनि भनेका छन्।

तर सुनीलले द कपिल शर्मा शोमा फर्किनेबारे कुनै प्रतिक्रिया दिएका छैनन्। उनले डाक्टर गुलाटीका रूपमा केही समयअघि ‘इन्डियाज लाफ्टर च्याम्पियन’ मा प्रस्तुति दिएका थिए।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा सुनीलले डाक्टर गुलाटीको भूमिकाबारे बोल्दै भनेका थिए, ‘म यो भूमिका आफ्नै लागि गर्न चाहन्छु। मैले लामो समयपछि डाक्टर मसूर गुलाटीको हुलियामा आउँदा रमाइलो अनुभव गरेँ। त्यो एक भागका लागि मात्र थियो, त्यत्ति हो!’

सुनीलले सन् २०१७ मा कपिल शर्माको कार्यक्रम छाडेका थिए। कार्यक्रम छाड्नुको कारण कपिल र उनीबीच विदेशबाट फर्किने बेलामा हवाइजहाजमा भएको झगडा थियो। कपिलले उनलाई दुर्व्यवहार गरेपछि तत्कालै कार्यक्रम छाडेका थिए।

समयक्रममा उनीहरूबीचको रिस शान्त भइसकेको बुझिएको छ। बाहिरी रूपमा उनीहरू राम्रै बोल्छन् र एकअर्काका बारेमा अन्तर्वार्ताहरूमा कुरा पनि गर्छन्। उनीहरू दुवैले भविष्यमा सँगै काम गर्न सकिन्छ पनि भनेका छन्। तर द कपिल शर्मा शोमा फर्किनेबारे दुवैले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

कामको कुरा गर्दा कपिल शर्मा अहिले ‘कपिल शर्मा लाइभ’ नामक कमेडी टुरमा व्यस्त छन्। उनले हालै क्यानडाका भ्यानकोभर र टोरन्टो सहरमा कार्यक्रम गरेका छन्। यसपछि उनी अस्ट्रेलिया जाँदैछन्।