अरिंगालको शिकार गर्न जाँदा अरिंगालकै शिकार भएर युवकले ज्यान गुमाए

रूकुम पश्चिममा अरिंगाल पोल्न गएका गाउँपालिकाका कर संकलक अरिंगालकै शिकार भएर ज्यान गुमाएका छन् । त्रिवेणी गाउँपालिकामा कर संकलकका रूपमा कार्यरत वडा नम्बर १ का ४० वर्षीय सुवर्ण विकको अरिंगालले टोकेर आइतबार मृत्यु भएको हो।

छिमेकी जिल्ला सल्यानमा अरिंगाल पोल्न गएका बिकलाई तीन दिन अगाडि अरिंगालले टोकेर घाइते बनाएको थियो। रुकुम पश्चिममा अरिंगाल पोलेर भगाई त्यसका बच्चाको तरकारी वा अचार खाने चलन छ।

बिक पनि साथीसहित अरिंगालको गोलो पोल्न गएका थिए। अग्लो रुखमा रहेको अरिंगालको गोलोमा आगो झोसेपछि उनले बोकेको आगो हातबाट छुठेको र त्यही मौकामा अरिंगालको गोली खनिएर उनलाई टोकेको गाउँपालिकाका अध्यक्ष गणेश केसीले वताए ।

अरिंगालले टोकेर गम्भिर घाईते भएका विकलाई उपचारका लागि झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा भर्ना गरिएको थियो। थप उपचारका लागि नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा पर्ने सल्यानको श्रीनगरमा उनको मृत्यु भएको अध्यक्ष केसीले जानकारी दिए ।

गाउँपालिकाले बिकलाई रूकुम र सल्यानको सीमानामा पर्ने खोलामा कर संकलकका रूपमा खटाएको थियो।