उपप्रमुख चौधरीका छोराविरुद्ध बुहारीले दिइन् जबरजस्ती करणीको जाहेरी

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीका छोराविरुद्ध बुहारीले आज इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीको जाहेरी दिएकी छन् । जाहेरीमा चौधरीका छोरा मोहन चौधरीले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको बुहारीले उल्लेख गरेकी छन् ।

केही दिन अघि उनले आफूमाथि शारीरिक र मानसिक हिं सा भइरहेको सार्वजनिक गरेकी थिइन् । उपप्रमुख चौधरी तिलोत्तमा नगरपालिकाको न्यायिक समिति संयोजक पनि हुन् ।

गत साउन १४ गते राती मदिरा पिएर आएका उनका पति मोहनले कुटपिट गरेको उनले दाबी गरेकी छन् । उनको शरीरमा निलडाम, घाँटीमा हातले थिचेको, टोकेको डाम प्रस्ट देखिएको छ । साउन १५ गते बच्चा लिएर इलाका प्रहरी कार्यालय मङ्गलापुर पुगेकी थिइन् ।

त्यसपछि पतिले गाली बेइज्जती गर्दै कुटपिट गरेको निवेदन प्रहरीमा दिएको उनले बताइन् । प्रहरीले कुटपिटमा परेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको जनाएको छ । हिंसाको उजुरी गरेर सुरक्षा माग गर्दै इलाका प्रहरी मङ्गलापुरमा आएपछि पीडितको शारीरिक र मानसिक अवस्था परीक्षण भइरहेको इलाका प्रहरी बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले बताए ।

उनले एक पटक श्रीमान्लाई सम्पर्क ल्याएर घरायसी विवाद भएको छलफल गराउने नभएका कानुनी अनुसार अगाडि बढ्ने बताए । जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको घटना बाहिर आएपछि धेरै चासोका साथ हेरेका छन् ।