बाटो नै नभएको ठाउँमा मोटरेवल पुल बनाएपछी चर्चामा पूर्व मन्त्री बस्नेत !

पोखरा ।
सत्ता र शक्तिको दुरुपयोगको कुरुप उदाहरण यतिबेला गोरखाको दरौंदी नदीमाथि निर्माण भएको पुल बन्न पुगेको छ । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने पक्की पुल पाँच करोडको लागतमा निर्माण सम्पन्न हुँदैछ । तर, उक्त पुलको वारि खेत छ, पारि पहरो  छ ।

मानिस आउजाउका लागि भने यो मोटरेबल पुलनजिकै झोलुंगे पुल छ । नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक ल्याइएको छ, तर उक्त सडक प्रयोगमा छैन । किनकि, सडक र पुलको बीचमा जंगल पर्छ । जरेवरतर्फ निर्माणाधीन मोटरेबल पुलको डेढ किलोमिटर दूरीमा बाह्रकिलो बारपाक सडक छ ।

नारेश्वरतर्फबाट ल्याइएको सडकलाई मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बाह्रकिलो बारपाक सडकसँग जोड्ने बताइएको छ । पुलबाट जरेवरतर्फ भने सडक छैन, स्थानीयको खेत छ । सडक नै नजोडिएको ठाउँमा यसरी गाडी चल्ने पुल निर्माण गरिएको समाचार सञ्चार माध्यममा आएसंगै अहिले पूर्वमन्त्री बस्नेत चर्चामा छन् । समाजिक प्रयोग कर्ताहरुले ‘विकाशको नमुना भन्दै उक्त पुललाई भाइरल बनाएका छन् ।

भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाका अनुसार जरेवर–नारेश्वर–गोरखा बजार सडक खण्डअन्तर्गत दरौंदीमाथि पुल निर्माण गरिएको हो । निर्माण कम्पनी एचटीसी, गणेशकुण्ड, आईएस निर्माण सेवाले जोइन्ट भेन्चरमा २ जेठ २०७७ मा सम्झौता गरेर पुलको काम थालेको थियो ।

सम्झौताअनुसार म्याद गत जेठमै सकिएको छ तर म्याद थपपछि आगामी पुससम्ममा पुल निर्माण सक्ने लक्ष्य राखिएको छ । यसको लागत अनुमान ५ करोड ३९ लाख रुपैयाँ छ । अहिले पुलको ९२ प्रतिशत वित्तीय र ९३ प्रतिशत भौतिक प्रगति रहेको ढुंगानाले बताए ।

पूर्व मन्त्री बस्नेतले भने उक्त पुल निर्माणमा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गर्छन् । त्यसको उपयोग हुन थालेपछि महत्त्व थाहा हुने उनको प्रतिक्रिया छ । दरौंदी फाँटमा खेती गर्ने गोरखा नगरपालिकाका किसानलाई अन्नबाली घरसम्म पुर्‍याउन त्यहाँको सडक र मोटरेबल पुल जरुरी रहेको उनले बताए । चोरकाटेभन्दा माथिका खेतधनीलाई नदी तर्ने ठाउँ नभएकाले पुल बनाइएको उनको तर्क छ ।