प्रचण्ड भन्छन्- अबको निर्वाचनमा हामी दोस्रो हुने हो, होइन भने सहज हुन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको बताएका छन् ।

माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउँदै उनले कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताए ।

‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’

यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको उनले बताए । ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईँहरू ढुक्क हुनुस गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो,’ उनले भने ।

यसो हुँदा देशको बागडोर आफ्नो हातमा आउने उनले बताए । उनले भने, ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’

व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको अध्यक्ष प्रचण्डले बताए । ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस र लास्ट इनिङ पछि सम्मको सन्ततिलाई सम्झने गरी होस भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ ।’ उनले भने ।

स्थानीय चुनावमा नै माओवादी केन्द्र दोस्रो पार्टी हुने अवस्थामा आफ्नै पार्टीभित्रका घात अन्तर्घातले असर गरेको उनले बताए । ‘५० वटा पालिका जितेका बचाउन सकेको भए देशको दोस्रो र लेफ्टको पहिलो पार्टी हुन्थ्यौँ,’ उनले भने,‘१७५ सिट जित्छौँ भन्ने थियो हाम्रो । ५० सिट नगुमेको भए ।’

माओवादी केन्द्रले १७५ सिट जित्दा एमाले १६० को तल आइपुग्ने र माओवादी केन्द्र दोस्रो बन्ने प्रबल सम्भावना रहेको उनले बताए ।