कुकुरको पनि सालिक !

खोटाङ — समाजमा उल्लेख्य योगदान दिएकाहरूको सालिक बनाउनु नौलो विषय होइन । पछिल्लो समय त स्थानीय सरकारहरूले व्यक्ति मात्र होइन, विभिन्न बस्तुको प्रतिकात्मक मूर्ति स्थापना गर्ने होड नै चलेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा भने कुकुरको सालिक बनाइएको छ । ३ लाख ८० हजार रुपैयाँ खर्चेर उक्त सालिक निर्माण गरिएको हो ।

अन्य ठाउँमा बनाइएको भन्दा यसको महत्त्व फरक छ । माक्पास्थित दुमी राईको ऐतिहासिक महत्त्वका आधारमा सालिक निर्माण गरिएको स्थानीय भीम राईले जनाए । उनका अनुसार यसमा १२ औं पुस्ता अघि बसाइँ सरेर आएका पुर्खाहरूको कहानी जोडिएको छ । गान्पा र रतेपा नाम गरेका दुई दुमी राईका पुर्खाहरू केपिलासगढी गाउँपालिकाको सिम्पानीमा बस्थे ।

सिकारको क्रममा उनीहरूको साथमा ‘माखी’ नामको एउटा कुकुर पनि थियो । उसले बाटो देखाउँदै माखिपा (हालको माक्पा) मा आइपुगेपछि बास बस्ने बेला भुइँ कोट्याएर देखाएको र जनावरले देखाएको ठाउँमा बास बस्दा उत्तम हुने ठानेर त्यहीं बसोबास सुरु गरेको किंवदन्ती छ । माखी नामको कुकुरले देखाएको बासस्थानलाई माखिपा भनिएको र पछि अपभ्रंश भएर माक्पा भएको जनविश्वास छ । यसैलाई आधार मानेर माखी कुकुरको मूर्ति बनाइएको राईको भनाइ छ ।

उक्त मूर्ति निर्माणलगायत समग्र माखिपा पर्यटन क्षेत्रका लागि गाउँपालिकाले करिब ४२ लाख रुपैयाँ खर्च गरिसकेको छ । उक्त रकमले कुकुरको सालिकबाहेक गान्पा, रतेपाको सालिक, सतीदेवी मन्दिर, स्विमिङ पुललगायतमा खर्च गरिएको छ । यसमध्ये गान्पा, रतेपाको सालिकमा १ लाख २० हजार, सतिदेवी मन्दिरमा २ लाख ८५ हजार, पयटकीय क्षेत्रमा खानेपानीका लागि ६ लाख, शौचालयमा ९ लाख रुपैयाँ खर्च भएको माक्पाको वडा कार्यालयले जनाएको छ । उक्त रकम क्रमागत रूपमा खर्च गरिएको हो ।

डीपीआर बनाएर आर्थिक वर्ष ०७४/७५ देखि माखिपा पर्यटन क्षेत्रको विकासको काम थालिएको गाउँपालिका कार्यालयले जनाएको छ । यो आवमा पनि १७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकम ठेक्कामार्फत खर्च गरिने गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । अघिल्लो बजेट भने उपभोक्ता समितिमार्फत खर्च गरिएको थियो ।