रणवीर सिंहको न्यूड फोटो विरुद्ध उजुरी, महिलाको शिष्टतालाई अपमान गरेको आरोप

पेपर म्यागजिनको लागि रणवीर सिंहले गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । यो न्यूड फोटोसुटले इन्टरनेटमा सानोतिनो आँधी नै ल्याएको थियो ।

बिचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका महिला फ्यानले प्रतिक्रिया नजनाइरहन सकेनन् । तर, यी तस्बिरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता भएको छ ।

मुम्बईको चेम्बुर पुलिस स्टेसनमा रणवीरविरुद्ध उजुरी दर्ता भएको एएनआई न्यूज एजेन्सीले जनाएको छ । उजुरीकर्ताले ‘बाजीराव मस्तानी’ अभिनेतालाई भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

महिलाको भावनामा चोट पु¥याएकोदेखि उनीहरुको शिष्टताको पनि अपमान गरेको उजुरीमा उल्लेख छ । तर, चेम्बर पुलिसले चाहिँ अहिलेसम्म अभिनेताविरुद्ध एफआईआर दर्ता नगरेको जनाएको छ ।

उक्त उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले बताएको छ । ‘हामीले आइतबार एक एनजीओसँग आबद्ध एक व्यक्तिबाट आवेदन पाएका छौं । अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । हामीले सोधपुछ गरिरहेका छौं’ प्रहरीले भन्यो ।

जारी तस्बिरमा रणवीरले टर्किस कार्पेटमा नग्न पोजहरु दिएको देख्न सकिन्छ । ती तस्बिरहरु रणवीरको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पनि सेयर गरिएको थियो । तर, उनका फ्यान र भारतीय फिल्म उद्योगकर्मीले रणवीर तस्बिरलाई समर्थन गरेका छन् ।

पूजा हेग्डेसँग मिलेर रणवीरले फिल्म सर्कसमा अभिनय गर्दैछन् । आलिया भाटसँग करण जोहरको रकी और रानीको प्रेम कहानी पनि आउँदैछ ।