कहिले टिप्ने भगवान शिवलाई चढाउने बेलपत्र ? शिवलाई खुशी पार्न यसरी चढाउनुपर्छ शिवलिंगमा बेलपत्र

काठमाडौं ।

साउन महिनालाई भगवान शिवको महिनाका रुपमा चिनिन्छ । पशुपति क्षेत्रमा साउन महिनाको पनि सोमबार विशेष भीड लाग्ने गर्छ । यसवर्ष साउनमा पाँच सोमबार परेका छन् । पाँच सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

धार्मिक संस्थाको आयोजनामा यसवर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ ।

भगवान् शिवलाई खुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ । यस महिनामा भगवान शिवको विधिपूर्वक पूजा गर्दा सबैभन्दा महत्वपूर्ण वस्तु अर्पण गरिन्छ । त्यो हो बेलपत्र । बेलपत्रका अलावा जलाभिषेक, रुद्राभिषेकसँगै भगवानलाई केही वस्तु अर्पण गर्नु शुभ मानिन्छ ।

बेलपत्र महादेवका लागि निकै नै प्रिय वनस्पति हो । शिवको पूजा गर्दा बेलपत्र अनिवार्य चाहिने गर्छ । बेलको पात चढाउँदा सबै प्रकारका संकटबाट मुक्ति मिल्ने जनविश्वास छ । यससँगै सुख समृद्धि पनि प्राप्त हुन्छ भनिन्छ ।

शिव पुराणमा शिवलिङ्गमा बेलपत्र चढाउने केही नियमहरू बताइएको छ । यिनको पालना गर्नाले पूजाको पूर्ण फल मिल्छ। बेलको पात चढाउँदा बेलको पात नतोडी चढाउनुपर्छ । शिव पुराणका अनुसार तपाईसंग जति बेलका पातहरू छन् त्यती नै चढाउनु राम्रो मानिन्छ ।

शिवलाई ३ देखि ११ बेलको पात अर्पण गर्नु शुभ मानिन्छ । तर धेरै पातहरू भए अझ राम्रो हुने मानिन्छ । शिवलिंगमा चढाउने बेलपत्र छनोट गर्दा ध्यान दिनुहोस् कि यसमा कुनै प्रकारको दाग वा प्वाल भएको बेल पत्र भगवानलाई नचढाउनुहोस्। यस्तो बेलपत्रलाई दोषपूर्ण मानिन्छ। वज्र र चक्र बेलपत्र खण्डित भएको मानिन्छ ।