नेतामा हुनुपर्ने गुण नभएको भए एमाले प्रवेश गरेको एक महिनामै कसरी केन्द्रीय सदस्य भएँ त ? : दुर्गा प्रसाई (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमा नेतामा हुनुपर्ने गुण सबै रहेको बताएका छन् । आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र क्षमता भएको बताएका छन् । पत्रकार धमलाले क्षमताले भन्दापनि एमाले अध्यक्ष केपी शर्मा ओलीले दाईजोमा उपहार दिएको हो नि ? भनेर टिप्पणी गर्दा प्रसाईले भने–‘होईन, त्यो गलत कुरा हो ।

केपी ओली र प्रचण्डलाई मार्सी भात खुवाउनेमात्रै होईन, कुनै दिन नरेन्द्र मोदीसँग पनि डिनर खाएको फोटो आयो भने आश्चर्य नमाने हुन्छ । मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँछु । मसँग त्यो तागत छ । त्यो बेला पनि आईसकेको छ । यो त समयको माग हो । कसैले पत्याएको थियो त, दुवइको राजपरिवारको सदस्य मैले ल्याएर देखाएँ त । उनी राजपरिवारको सदस्य थिएनन भने अन्तिममा मेरो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले किन भेट्नुभयो त ? उहाँले हिज हाईनेस भनेर ईंग्लिसबाट कुरा गर्नुभयो, म ईंग्लिश बुझ्दिनँ ।

उनले गगन थापालाई राजनीतिक माफियाको संज्ञा दिए । उनले भने,‘माफिया भनेको त गोविन्द केसी, गगन थापा, नारायणकाजी, गिरिराजमणि पोखरेल यिनीहरु माफिया हुन् ।’ उनले गगन थापाको विरुद्धमा आफ्नो भतिजो अर्जुन प्रसाईले उम्मेद्धवारी दिने जानकारी दिए । झापा ३ मा एमाले र राप्रपाको गठबन्धन भयो भने आफूले स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् । उनले नेपालमा हालै आईजिपी नियुुक्ती हुँदाको प्रसँगमा पनि कडा टिप्पणी गरेका छन् । उनले भने,‘यहाँ आईजिपी डिल हुँदा क्रिप्टोकरेन्सीबाट पैसा विदेश गयो । तपाईालाई त्यहाँभन्दा अरु के भनौं ?’

पत्रकार धमलाले तपाईँसँग यसबारेमा सूचना छ त ? भन्ने प्रश्नमा उनले भने–‘सूचना होईन, मसँग यहाँ (मोवाईल देखाउँदै) छ, पैसा कसरी र कहाँ राखेका छन् । लु हेर्नुहोस न, यो त स्याम्पल मात्रै हो ।’उनले नेपालबाट विदेशी लगेका सबै पैसा फिर्ता ल्याउनको लागि आफूहरुले पहल गर्ने र आगामी भदौबाट आन्दोलन नै गर्ने घोषणा गरे ।