प्रचण्ड-बाबुराम भेटवार्ता : समाजवादी केन्द्र बनाउने दिशामा उन्मुख

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने विषयमा छलफल भएको छ।

केही दिनदेखि निरन्तर छलफलमा रहेका प्रचण्ड र भट्टराईबीच बिहीबार ललितपुरस्थित एक घरमा भेटवार्ता भएको थियो। उक्त छलफलमा प्रचण्डले पार्टी एकताको प्रस्ताव गरेका छन्। प्रचण्डले पार्टी एकता गर्ने र पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्न प्रस्ताव गरेको स्रोतले जनाएको छ।

प्रचण्ड निकट स्रोतका अनुसार प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी। माओवादी केन्द्र र बाबुराम भट्टराईको पार्टीबीच एकता गरेर समाजवादी केन्द्र गठनको प्रस्ताव गरेका छन्। भट्टराईले कम्युनिष्ट पार्टी गठनप्रति रुची नदेखाए पनि समाजवादी केन्द्र गठन गर्ने विषयमा सकारात्मक जवाफ दिएका छन्।

प्रचण्ड भारत भ्रमणबाट फर्केपछि बाबुरामसँगको एकतालाई प्राथमिकतामा राखेर छलफल भइरहेको छ। समाजवादी केन्द्र बनाउने विषयमा माओवादी र जसपाले पार्टीभित्र छलफल गरेर निर्णय लिने तय भएको स्रोतले जनाएको छ।

जसपाले संघीय परिषद अध्यक्षबाट भट्टराईलाई कारवाही गरेपछि पार्टी पुनर्गठनको अभियानमा लागेका भट्टराई सेफल्याण्डिङको खोजीमा छन्।

‘सकेसम्म बाबुरामजीलाई पार्टी प्रवेश गराउने, त्यो संभव नभए, मोर्चाबन्दी गर्ने र अन्तिम विकल्प समाजवादी केन्द्र बनाउने गरि छलफल भइरहेका छन्,’ प्रचण्ड निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘बिहीबार (आज) को छलफल समाजवादी केन्द्र गठन गर्ने तिर उम्मुख थियो। यो विषयमा बाबुरामजीले पार्टीमा छलफल गर्छु भन्नु भएको छ।’