एमालेले अझै देखाउन सकेन एम अधिकारी!

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीन दिन भइसक्दा पनि पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी को हुन् भन्ने देखाउन सकेको छैन।

एमालेको विभागमा रहेका ती व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भनेर व्यापक चर्चा भइरहेको छ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरूले संसदमा उनको राजीनामा मागेका छन्।

सामाजिक सञ्जालमा मानिसहरूले नक्कली खाता खोलेर एम अधिकारी यिनै हुन् भनेर खिल्ली उडाइरहेका छन्। कतिले एमालेको आलोचना पनि गरेका छन्।

सत्तारूढ गठबन्धनको शुक्रबारको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले यो विषय पनि उठाएका छन्।

सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिमा चर्चा भइरहेका एम अधिकारी को हुन् त भन्नेबारे एमालेले अहिलेसम्म लन्ठ्याङलुन्ठुङ जवाफ दिइरहेको छ।

एमालेको अर्थ तथा योजना विभागमा रहेको एम अधिकारी को हो भनेर गभर्नर अधिकारीले एमाले पार्टी कार्यालयलाई सोधेका थिए। त्यसको जवाफ दिँदै एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले ‘एम अधिकारी, खोटाङ भन्ने व्यक्ति तपाईं होइन’ भन्दै अधिकारीलाई जवाफ फर्काएका छन्।

उक्त जवाफमा सचिव अधिकारीले एम अधिकारी भन्ने व्यक्ति को हो भन्ने खुलाएका छैनन्।

एम अधिकारी को हुन् त भन्ने सेतोपाटीको प्रश्नमा एमाले कार्यालय सचिव अधिकारीले उनी खोटाङमा जन्मिएर हाल विराटनगरमा बस्ने चार्टर्ड एकाउन्टेन्ट मनोज अधिकारी भएको बताए।

‘उहाँ नै एम अधिकारी हो। हामीले यत्ति भन्न सक्छौं। उहाँका बारेमा बाँकी कुरा त विभागले नै भन्ला,’ उनले भने।

कार्यालय सचिव अधिकारी विभागलाई देखाएर पन्छिए पनि विभागका पदाधिकारी पनि एम अधिकारीबारे भन्न सक्ने अवस्थामा छैनन्।

एमालेको अर्थ तथा योजना विभागका सचिव योगेन्द्रबहादुर शाहीलाई यस विषयमा सोध्दा लटरपटर जवाफ दिए।

‘यो विभागले भन्दा पनि पार्टीले गरेको नियुक्ति हो। हामीले उहाँ एनजिओ/आइएनजिओलगायत विभिन्न क्षेत्रमा काम गर्ने मान्छे हो भन्ने सुनेका छौं। म अहिले काठमाडौं बाहिर छु। दुई-चार दिनमा काठमाडौं फर्किएर सबैजना भेला भएपछि उहाँबारे विस्तृत कुरा आउँला,’ शाहीले भने।

शाहीले यसअघि असार ३० गते विभागको बैठक बस्ने र सोही बैठकमा एम अधिकारीबारे जानकारी हुने बताएका थिए। तर विभागको बैठक अहिलेसम्म बसेको छैन।

एमालेको अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसाल हुन्। उनको विभागमा रहेका सदस्यबारे सार्वजनिक रूपमा यत्रो चासो व्यक्त भइरहँदा उनले पनि एम अधिकारीको परिचय खुलाएका छैनन्।

असार २९ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विभागका सदस्य एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएका छन् भने एम अधिकारी को हुन् त भन्ने खुलाएका छैनन्।