“बालेनले काम गर्न सक्दैनन्” – डा.बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका छन् ।

बिहीबार थेम्स इनटरनेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा उनले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका हुन् ।

उनले भने, ‘मलाई डर छ, बालेन शाहले जितेर आउनुभयो । मैले शुभकामना पनि दिए । बधाई पनि दिए । तर प्रणाली छैन, त्यहाँ । उहाँ एक्लैले गर्न सक्ने कुरा त हुँदैन । प्रणाली ठिक गरिएन भने ठीक मान्छे छानिन सक्दैन। त्यसले काम गर्न पनि सक्दैन ।’

डा.भट्टराईले समावेशी र सहभागितामुलक प्रजातान्त्रिक प्रणाली अहिलेको आवश्यकता भएको औल्याए । ‘शासन प्रणालीमा परिवर्तन ल्याउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद राज्य प्रणाली हुनुपर्छ’, उनले भने, ‘योग्य र सही मान्छे छानिएर जानसक्छ ।’

डा।भट्टराईले व्यक्ति र राज्यनै सबैथोक हो भन्ने पुँजीवादको विकल्पमा अग्रगामी विचारसहितको राज्य व्यवस्था प्रणाली ल्याउनुपर्ने बताए । ‘प्रजातन्त्रमा आधारित समावेशी नयाँ प्रणाली अपनाउने साहस गर्नुपर्छ’, उनले भने ।