राजीनामा दिएको दुई दिनपछि याक्सनमा उत्रिए सभामुख, अब कता मोडिएला शर्मा प्रकरण ?

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले जनार्दन शर्मामाथि छानविन गर्न बनेको ११ सदस्यीय संसदीय विशेष छानविन समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले दिउँसो १ बजे बानेश्वरमा बैठकका लागि छानबिन समितिका सदस्यहरुलाई बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले जानकारी दिइन् ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो । २ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ ।

सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् । छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले बताए ।