म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु- मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।

उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्।

यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए।

उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताएका थिए।

यसरी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना भएको थियो। विरोधपछि महानगरपालिकाको बजेट प्रयोग गरी सालिक बनाउने निर्णयबाट उनी पछि हटेका हुन्।

उनले यम बुद्धको सालिक बनाउनेबारे सार्वजनिक गरेपछि सेतोपाटीले बालेनको सचिवालयका स्वकिय सचिव भूपदेव शाहलाई सोध्दा उनले ‘र्‍यापर यमबुद्धको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागेको’ पुष्टि गरेका थिए।

‘यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका छौं,’ उनले भनेका थिए, ‘दसदेखि पन्ध्र लाख रूपैयाँसम्ममा सालिक बनाउने कार्यक्रम छ।’

सालिक कहाँ स्थापना गर्ने भन्ने चाहिँ यकिन भइसकेको छैन।

‘सडकमा जथाभावी राख्ने छैनौं। जुन ठाउँमा अर्थपूर्ण हुन्छ, त्यहीँ राख्छौं। हिपहिप संगीतसँग जोडिएको स्थानमा राख्ने हाम्रो योजना छ,’ उनले भनेका थिए।

यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक बनाउन लागेको भूपदेवको भनाइ छ। लन्डनमा आत्महत्या गरेका यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो।

वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि थियो