चुनावमा कांग्रेस र एमालेको पैसा खाएर हाम्रो पार्टीका उम्मेदवार हराइयो भन्नेछ, छानबिन गरेर कारबाही हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा अन्तर्घात गर्ने र पार्टी अनुशासन नमान्नेलाई कारबाही गरिने बताएका छन्।

उनले कहाँ-कहाँ कसले पार्टी अनुशासन मानेनन् र कसले कहाँ अन्तर्घात गरे भन्ने छानबिन गरिने पनि बताए।

कमलादीस्थित प्रज्ञा भवनमा आज जारी केन्द्रीय समिति बैठकमा यसअघि केन्द्रीय सदस्यरूले उठाएका प्रश्नका जवाफ दिँदै प्रचण्डले महोत्तरी, सिराहा, बर्दियालगायत केही जिल्लामा पार्टीभित्र बिबाद देखिएको बताए।

‘अनुशासन उलंङ्घन गर्नेलाई अनुशासनको कारबाही गर्नैपर्छ,’ उनले भने, ‘छानबिन गरेर १५ दिनभित्र रिपोर्ट आउँछ। यसको जिम्मा अनुशासन आयोगका प्रमुख टंक राईलाई जिम्मा दिने हो।’

उनले १५० देखि १७५ पालिका प्रमुख जित्न सकिने आँकलन गरिए पनि अन्तर्घातले गर्दा जित्न नसकिएको बताएका थिए। माओवादीले १२० पालिका प्रमुख जितेको छ।

‘हामीले अनुमान गरेजस्तो हिसाब मिलेन,’ उनले भने, ‘मधेशमा धेरै हिसाब बिग्रियो। त्यहाँ ४० सिट जितिएला भन्ने थियो तर ९ मात्रै जितियो।’

उनले पालिका प्रमुखहरूमा उम्मेदवार दोहोर्‍याउँदा पनि नजितिएको बताएका थिए।

‘विशेषत अन्तरघातल हारियो, पार्टीले निर्णय गरेपछि जिताउन लाग्नपर्ने तर एकले अर्कालाई हराउन लागेजस्तो देखियो,’ उनले भने, ‘अहिले एकले अर्कोलाई कारबाही गर भन्नेछ। एकले अर्कालाई कांग्रेस र एमालेको पैसा खायो भन्नेछ, त्यसो भएपछि कसलाई कारबाही गर्ने बडो जटिल हुने रहेछ।’