केन्द्रीय समितिमा जनार्दनले भने : एमालेले एसपीपीमा गरेको राष्ट्रघात छोप्न लोकप्रिय बजेटमा हमला गर्‍यो

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा गरेको राष्ट्रघात छोप्न प्रतिपक्षी नेकपा एमालेले बजेटमा हमला गरेको आरोप लगाएका छन्।

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र व्यापारिक घारानाको स्वार्थमा करको दर हेरफेरमा राजीनामा दिएर संसदीय छानविनमा तानिएका शर्माले नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा लोकप्रिय बजेट ल्याएका कारण एमालेले हमला गरेको आरोप लगाएका हुन्।

केन्द्रीय सदस्यहरुले बजेट निर्माणमा भएको अनियमितता र राजीनामाबारे राखेको जिज्ञासाको जवाफमा शर्माले बजेटमा सिंगो पार्टीप्रति नै प्रहार गरिएको बताए।

साधन प्रविधि र पुँजीलाई जोडेर ल्याएको बजेटले सामाजिक न्याय स्थापित गर्ने उनले जिकिर गरे। ‘लोकप्रिय बजेट ल्याएका कारण प्रतिपक्षी एमालेले हमला गरेको छ। बजेटको लोकप्रियताबाट विपक्षी डराएको छ,’ उनले भने, ‘एमालेले एसपीपी सम्झौता गरेर राष्ट्रघात गरेको थियो। त्यो राष्ट्रघात छोप्न यो लोकप्रिय बजेटमा हमला गर्‍यो। यो बजेटमा सिंगो पार्टीप्रति नै प्रहार गरिएको छ।’

शर्माले महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजको आधार र पार्टीको निर्देशनमा बजेट बनाएको पनि स्पष्ट पारे। ‘देशको हितमा बजेट छ,’ उनले भने, ‘जुन भ्रम फैलिएको छ जनमानसमा, छानविन समितिलाई सजिलो होस् भनेर नैतिकताको आधारमा राजीनामा दिएको हो।’